बालुवाटार जग्गा प्रकरण : अख्तियारले भन्यो– छिट्टै मुद्दाको प्रक्रियामा जान्छौं

नेपाल लाइभ | २०७६ श्रावण ३ शुक्रबार | Friday, July 19, 2019 १४:२८:०० मा प्रकाशित

काठमाडौं- बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिट्टै मुद्दा चलाउने जनाएको छ।

विभिन्न व्यक्तिसँगको बयान र अनुसन्धान अन्तिम चरणमा रहेकाले मुद्दा छिट्टै जाने अख्तियार स्रोतले बतायो।

बालुवाटारको १ सय १३ रोपनी जग्गा २०२१ सालदेखि भूमाफियाहरुले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न अदालतमा मुद्दा चलिरहेको छ। यसबीच यो मुद्दामा जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुगेर विभिन्न पटक फैसलासमेत भएको छ।

सर्वोच्चले समेत सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता सदर गर्ने फैसला गरे पनि यो विवाद हाल उच्च अदालत पाटनमा विचाराधीन छ। यही विवाद चलिरहेको अवस्थामा मन्त्रिपरिषद् बैठकले बालुवाटार क्षेत्रको १ सय १३ रोपनी ३ आना ३ पैसा जग्गा सरकारकै नाममा ल्याउने निर्णय गरेको थियो। 

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले मुआब्जा दिएर अधिग्रहण गरिएको साबिकको ललिता निवासको उक्त जग्गा रोक्का गर्ने निर्णय गरेको थियो। २०२१ सालमा गृह पञ्चायतले उक्त जग्गा सरकारलाई आवश्यक हुने भन्दै तत्कालीन समयको उपयुक्त क्षतिपूर्ति दिएर अधिग्रहण गरेको थियो। 

भूमाफियाहरुको चलखेलकै कारण त्रिताल आयोगको प्रतिवेदनसमेत लुकाइएको थियो। तर, मन्त्रिपरिषद्ले उक्त जग्गा सार्वजनिक बनाउने निर्णय गरेसँगै यो प्रकरण पुन: चर्चामा आएको हो। त्रिताल आयोगको प्रतिवेदन सञ्चारमाध्यमले सार्वजनिक गरेपछि जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलसहित व्यापारिक घरानासमेत जोडिएका रहस्य खुलेको थियो।