• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फिल्म क्षेत्रले माया मारेपछि कलाकार कामेश्वरको कथा

अनिल यादव बुधबार, साउन १, २०७६  १९:४९
1140x725

‘९ महिना भयो एउटै काम पाएको छैन, कसैलाई काम माग्दै भेट्न जाऊँ भने खल्तिमा चिया पिलाउने पैसा पनि छैन। अब के गर्ने, कसरी पेट पाल्ने, म त सोच्दासोच्दै डिप्रेसनमा जान्छुजस्तो भइसक्यो।’

६ महिनाअघि अभिनेता कामेश्वर चौरसियालाई काठमाडौं, पुरानो बानेश्वरस्थित एउटा क्याफेमा भेट्दा उनको मुहारमा खुसी कम, पीडाको तापमान ज्यादा थियो। 

ठूलै संघर्षपछि उनले फिल्ममा अवसर पाएका थिए। अभिनयको पनि राम्रै तारिफ भएको थियो। केही समय फिल्ममा व्यस्तता पनि राम्रै बढेको थियो। 

तर समय न हो, सधैं एकनासको कहाँ हुदो रै’छ र! 

‘म त फेरि पुरानै अवस्थामा फर्किएँ, अनिलजी। सबै अभिनय त राम्रै गर्छस् भन्थे तर अचानक मबाट त्यस्तो के गल्ती भएछ खै, कोही पनि फिल्मको अफर नै गर्दैनन् यार,’ कामेश्वरले ६ महिनाअघि सुनाएका थिए। 

६ महिनापछि फेरि अचानक कामेश्वर सम्झनामा आए। अनि, मनमनै जिज्ञासा जाग्यो– ६ महिनाअघि काम नपाएर तनाव अवस्थामा भेटिएका कामेश्वर अहिले कहाँ के गर्दै होलान्? 

फिल्म खेल्न नपाएर तड्पिएका उनले फिल्म पाए कि पाएनन्? नयाँ फिल्मको सुटिङमा पो व्यस्त छन् कि? 

Ncell 2
Ncell 2

त्यसपछि कामेश्वरलाई फोन गर्दा उनले काठमाडौं, मिनभवनस्थित बागमतीको करिडोरमा भेट्न बोलाए। 

०००

कामेश्वरलाई खोज्दै–खोज्दै उनले दिएको लोकेसन अर्थात् बागमती करिडोरमा पुगियो। एकतले घरमुनि एउटा सटरमा खोलिएको बेनामे पसलमा उनी निकै व्यस्त देखिन्थे। 

अनुहारमा दाह्री बाक्लै बढिसकेको थियो। तैपनि निलो सर्ट, निलै रङको पाइन्ट  र कालो चश्मा पहिरिएका उनी ‘हिरो’कै गेटअपमा थिए। 

पसलको सजावट झकिझकाउ थिएन। सामान्य खाजा घरको जस्तै थियो। छानो टिनको थियो, त्यो पनि प्लाइउडरहित। ग्राहक बस्नका लागि पसलअघि ठड्याइएको थियो– बाँसको भाटाले बनाइएको अस्थायी संरचना। 

पसलभित्र– ग्राहकका लागि राखिएका स–साना मुढा र टेबलहरू थिए। खाँवामा झुन्डिरहेको अवस्थामा थिए, टुटेफुटेका मुखौटाहरु। भित्तामा झुन्डाइएका थिए, काठका मौलिक बाजाहरू। अनि, पोतिएको थियो– एउटा सिंह र अर्को युवतीको सुन्दर पेन्टिङ। 

समय दिउँसो २ बजेको थियो। बाहिर एक हुल ग्राहकले एक टेबल भरिएको थियो। उनीहरू माछाको काँडा केलाउँदै बियर पिइरहेका थिए। 

उता पसलभित्र कामेश्वर एक्लै ताप्केमा माछा तारिरहेका थिए। माछा तार्दातार्दै ग्राहकको बोलावट आइरहेको थियो, ‘एउटा बियर ल्याऊ त भाइ।’ 

फ्रिजबाट बियर निकालेर उनी ग्राहकको टेबलमा पु-याइरहेका थिए। नम्र भाषामा ग्राहकलाई सोधिरहेका थिए, ‘अरु केही ल्याऊँ सर?’

दृश्य फिल्मको सुटिङजस्तै लाग्थ्यो! 


लाग्नु स्वभाविक थियो। सधैं फरक–फरक पात्रको भूमिकामा खरो उत्रिरहेका कामेश्वर न हुन्। त्यसैले यहाँ पनि कुनै फिल्मका लागि उनी त्यसो गरिरहेका होलान् भन्ने भ्रम भइरहेको थियो। 
पहिलोपल्ट झट्ट देख्दा अन्योल भएकै हो। तर, पछि प्रष्ट भइयो– कामेश्वरको वर्तमान यथार्थ हो यो। 

तीन महिनायता उनी यही माछा पसल चलाएर बसिरहेका छन्। ‘दर्शक’लाई मीठो माछा पकाएर खुवाउनु अहिले उनको दैनिकी बनेको छ। किनभने उनको फिल्म हेरिसकेका ग्राहक पनि आइपुग्छन् उनको होटेलमा।
हामी पुग्दा उनी एक्लै काममा भिडिरहेका थिए। सहयोगी भाइ सामान किन्न बजार गएका रहेछन्, त्यसैले खाजा पकाउने, भाडा माझ्नेदेखि ग्राहकलाई सेवा गर्ने काम सबै उनी आफैं गरिरहेका थिए। 

यी सब दृश्य नियालिरहँदा यस्तो लाग्थ्यो– कामेश्वर ग्राहकलाई माछा खुवाएर खुशी छैनन्, जति अभिनयमार्फत दर्शक हँसाएर हुन्थे। उनको हाउभाउ र काम गर्ने शैली देख्दा उनी सुटिङ सेट खुब मिस गरिरहेजस्तो लाग्थ्यो। 

जिज्ञासा मेट्न सोधिहालियो, ‘पसलमा काम गर्दा पनि तपाईंको दिमागमा सुटिङ सेट नै मिस भइरहेको हुँदो हो?’

‘सही अनुमान गर्नुभयो,’ ग्यासमाथिको ताप्केमा माछा तार्दै अब उनी हामीसँग गफिन थाले, ‘सुटिङ सेट खुब मिस गर्छु। काम गर्दाखेरी जतिखेर पनि मेरो दिमागमा घुम्ने भनेकै क्यारेक्टर हो। यहाँ थरीथरी ग्राहक आउँछन्। म ती ग्राहकहरूमा थरीथरीका क्यारेक्टर पाउँछु। मलाई विश्वास छ, ति क्यारेक्टरहरु एक दिन मेरो करिअरमा खुब काम लाग्नेछन्।’ 

०००

माछा पसल कामेश्वरको रहरभन्दा पनि बढी बाध्यता हो। रहर त अझै पनि उनको अभिनय नै हो। तर, फिल्म खेलेर गुजारा चलाउन सकिएन भने अरु नै केही गर्छु भन्नेमा चाहिँ उनी पहिल्यदैखि तयार थिए। 

माछा पसल त उनले काठमाडौंमा टिक्नका लागि खोलेको हो। लगानीको रकम सबै उनको आफ्नै होइन। फिल्ममा काम नपाएपछि के गर्ने भनेर भौतारिँदै गर्दा एकपल्ट फिल्म निर्देशक गणेशदेव पाण्डेले खोलेको चियापसलमा पुगेछन्। 

गणेशले चिया बेचेको देखेपछि हिम्मत जुटेछ पसल खोल्ने। त्यसपछि सिधै घरमा सम्पर्क गरेछन्, बुबालाई। भनेछन्, ‘मलाई पैसा चाहियो, ‘रेष्टुरेन्ट’ खोल्नुप-यो।’ 

कहिले कलाकारिता, कहिले व्यवसाय। छोराको रुचिदेखि बुबा अचम्मित र आजित हुनु स्वाभाविक थियो। भनेजति पैसा पाएनछन्। त्यसैले सानो लगानीमा सामान्य पसल खोले। 

‘पसल हेर्दा सामान्य होला तर माछाचाहिँ भब्य रेष्टुरेन्टमा पाउनेभन्दा मीठो बनाउँछु है,’ मीठो मुस्कानसहित उनी दाबी गरिरहेका थिए। 

०००

कामेश्वर माछा तार्दै हामीसँग गफिइरहेका थिए। गफैगफमा कामेश्वरलाई सोधियो– ‘तपाईंको अनुभवमा जिन्दगी भन्या के रहेछ?’

जवाफमा कामेश्वरले आफ्नो विन्दास शैली झल्काए, ‘जिन्दगी भनेकै ननस्टप प्राक्टिक्स, ननस्टप ट्राइङ हो। ट्राइ, ट्राइ एन्ड ट्राइ, अनटिल यू डाइ।’ 

माछा तयार भएछ। ताप्केबाट निकालेर टपरीमा हाले। त्यसपछि मलाई अनुरोध गरे, ‘त्यो त्यतातिर पास गर्दिनुभयो भने कुरा गर्न सजिलो हुन्थ्यो!’

मैले बाहिर ग्राहककहाँ माछा पु-याइदिएपछि हामी फेरि मुढामा बसेर गफिन थाल्यौं। 

कामेश्वरले प्रस्ताव राखे, ‘एउटा सत्य घटनामा आधारित जोक सुनाउँछु है!’

स्वीकृतिको संकेत पाएपछि उनी अघि बढे। 

‘जोक’ यस्तो छः 
०७२ साल वैशाख ११ गते ‘रेशम फिलिली’ भन्ने फिल्म हलमा रिलिज भइरहेको थियो। रातारात एउटा मान्छे स्टार भइरहेको थियो। सर्वत्र उसको अभिनयको तारिफ भइरहेको थियो। 

अचानक २०७२ साल वैशाख १२ गते बिहानको समयमा ठूलो भुइँचालो आइदियो। त्यो कलाकारलाई फिल्म युनिटको फोन आइसकेको थियो, हलमा अडियन्ससँग रिएक्सन लिन जाने भनेर। 

त्यसैले बाहिर निस्किन ऊ घरमा तयार भइरहेको अवस्था थियो। माथिको सर्ट लगाइसकेको थियो, मुनि पाइन्ट लगाउँदै थियो। पाइन्ट आधामात्रै के तानेको थियो, अचानक भुइँचालो आइदियो।  

पूरा घर हल्लियो। घरमात्रै होइन, पूरा देश हल्लिएछ। मोबाइलको नेटवर्क बन्द भइसकेछ। एकछिनमै खबर आयो– धरहरा भत्किसक्यो। जताततै तहसनहस भएको खबर सुनिन थाल्यो। 

त्यसपछि फिल्म फ्लप। तर, ऊ दुःखी भएन। देशको क्षतिअघि उसकोे फिल्मको क्षति उसलाई केही लागेन। सोच्यो– यसले पहिचान त दिलायो, अब अर्को फिल्म पाइयो भने गरौंला। 

त्यसरी एकपछि अर्को फिल्ममा चान्स पाउँदै गयो। व्यस्तता निकै बढ्यो। कुनै फिल्म चल्यो, कुनै चलेन। माया गर्ने फ्यानहरु बढ्न थाले। अनि अचानक उसले फिल्म पाउन छाड्यो। धेरै महिना फिल्म पर्खिएर बस्यो। कसैले अफर नगरेपछि माछा पसल खोल्ने निधो ग-यो। अनि, अहिले माछा पसल चलाएर बसेको रैछ। ‘जोक’ सकियो। 

‘जोक’ सुनेर हामी हाँस्नुपर्ने थियो। तर, भावुक भइएछ। 

किनभने यो ठट्टा थिएन, कामेश्वरको जीवनमाथि नियतिले गरेको क्रुर ठट्टा थियो। 

केही समय मौनता छायो। 

उनैले तोडे मौनता, ‘मैले एकाएक फिल्ममा काम नपाउनुको कारण मलाई फिट हुने क्यारेक्टर नबनेर होला या फिल्मकर्मीले मलाई लिन नचाहेर होला। अथवा, मेरो अप्सन इन्डष्ट्रीले भेटेर पनि होला। मलाई लाग्छ, यो एउटा सिलसिला हो। यो तपाईंको लाइफमा पनि हुन्छ, सबैको लाइफमा हुन्छ। मेरोमा पनि भयो। यसमा मेरो कुनै सिकायत छैन।’ 

कामेश्वरलाई अझै आशा छ– आउने वर्ष उनको हातमा एउटा राम्रो फिल्म हुनेछ।

‘मलाई त के लाग्छ भने अहिले मैले पनि फिल्म कुरिरहेको हो र मलाई पनि फिल्मले कुरिरहेको हो,’ उनी भनिरहेका थिए। 

फिल्मवृत्तमा कामेश्वरबारे एउटा टिप्पणी खुब सुनिन्छ, ‘यसको खुब एटिट्युड प्रोब्लम छ।’ यसबारे कामेश्वर पनि जानकार छन्। हाँस्दै भन्दै थिए, ‘मलाई इन्डष्ट्रीले लगाउने आरोप हो। नभेटेको मान्छेले पनि अरुको कुरा सुनेर मबारे त्यस्तै विचार बनाउँदोरहेछ। अस्ति विराज भट्ट दाइले भन्नुभएको, मेरो फोन नम्बर दिन पनि कोही तयार हुँदैनन् रे।’

उनी आफूले जानीजानी कसैको मन नदुखाएको बताउँछन्। ‘मैले जानेर त कसैको मन दुखाउने गरी प्रस्तुत भएजस्तो लाग्दैन तर कसैलाई मेरो नेचुरल बोल्ने शैली नै चित्तबुझ्दैन भने त त्यसमा मेरो के दोष,’ उनले भने। 

यत्तिकैमा फेरि बाहिर ग्राहकको टेबलबाट बोलावट आयो, ‘टमाटरको अचार ल्याउ त भाइ।’ 
उनी दौडिएर किचनतिर लागे अचार पु-याउन। मैले सोधेँ, ‘यसरी एक्लै सबै काम भ्याउन गाह्रो हुन्न?’

विन्दास पारामा जवाफ फर्काए, ‘म त एक्लै भ्याइदिन्छु। सबै अलराउन्डर हान्दिन्छु।’

हुन पनि हो, आँखैअघिको दृश्यले यो सब बोलिरहेकै थियो। 

०००

‘रेशम फिलिली’मा कामेश्वरले निर्वाह गरेको पात्र ‘हरिया’लाई दर्शकले राम्ररी ग्रहण गरे। फिल्ममा हिरो बन्नका लागि हरियाले जसरी काठमाडौं आएर संघर्ष गर्छ, रियल लाइफमा पनि उनले बाराको जितपुरबाट काठमाडौं आएर गरेको संघर्ष त्योभन्दा कम छैन। 

सुरुमा फिल्मको स्क्रिप्ट हेर्दा कामेश्वरलाई पनि त्यस्तै लागेको थियो, ‘अरे यार, यो त मेरै कथा चोरेको त होइन!’

त्यतिवेला फिल्ममा उनले बोलेको एउटा डायलग खुब चर्चित भयो, ‘तेरो किस्मत छ गान्डु, तँ किन आइस् काठमान्डु।’ 

कामेश्वरलाई धेरैपल्ट लाग्यो– यो डायलग उनले आफ्नै लागि बोलेका हुन्। एकचोटीमात्र होइन, धेरैचोटी उनमा कलाकारिता चाहनालाई तिलाञ्जली दिएर गाउँ फर्किने सोच आएको थियो। 

‘लास्टै भयो, अब नसकिने रहेछ, फर्किनुप-यो’– यस्तो त मेरो मनले कति सोच्यो–सोच्यो,’ उनी सम्झन्छन्, ‘घरका मान्छेले पनि विश्वास गर्न छाडिसकेका थिए मलाई। गाउँमा त ‘कामेश्वर हिरो बन्ने सुरमा बिग्रियो’सम्म भन्न थालिसकेका थिए।’ 

बाल्यकालदेखि नै उनमा कलाकार बन्ने भूत थियो। गाउँघरमा बिहे होस् कि नौटंकी रामलीला, उनी नाँच्न पुगिहाल्थे। अभिनयको यही भुतले उनी प्लस टु परीक्षा दिएर ०६० सालतिर काठमाडौं आए। तर, १२ वर्षको संघर्षपछिमात्रै उनले फिल्ममा अवसर पाए। 

कामेश्वर दर्शकमाझ ‘रेशम फिलिली’बाट नोटिस्ड भए तर उनको करिअर त त्यही दिनबाट सुरु भएको थियो, जतिबेला उनी विद्यार्थी बन्नका लागि गुरुकुल पुगेका थिए। दुर्भाग्य, कोटा पूरा भइसकेकाले त्यतिबेला उनी त्यहाँ भर्ना हुन पाएनन्। 

त्यतिबेला गुरुकुल नाटक महोत्सव हुँदै थियो। उनी स्वयंसेवीका रूपमा सहभागी थिए। त्यहीँ उनले राम्रा–राम्रा रंगकर्मी र फिल्मकर्मीलाई चिने। रिहर्सल र नाटक हेर्ने मौका पाए। अनि, उनलाई लाग्यो–यतिकै उँभो नलागिने रै’छ। 

दिल्लीको नेसनल स्कुल अफ ड्रामाबारे उनले खुब सुनेको थिए। एकपल्ट त्यता ट्राइ गर्ने निधो गरे। त्यसपछि खल्तीमा एक हजार रुपियाँ बोकेर दिल्ली लागे। त्यहाँ पनि पढ्न पाएनन्। बाहिर एनएसडीको पूर्वविद्यार्थीले नाटकको कक्षा दिन लागेको थाहा पाए। र, डेढ वर्ष त्यहीँ पढे। 

त्यतै जम्ने प्रयास नगरेका होइनन् तर सकेनन्। जब उनलाई सिकेर मात्र केही हुँदो रै’नछ, त्यहाँ धेरै कुरा चाहिने रैछ भन्ने महसुस भयो, चुपचाप काठमाडौं फर्किए। यहाँ आएर रंगकर्मी अनुप बरालसँग तीन महिनाको कक्षा लिए।

‘त्यसपछि एकदुईजनाका आँखामा परिएको थियो,’ उनी सम्झन्छन्, ‘भूषण दाहालको ‘हाम्रो टिम’ नामक सिरियलमा तीन एपिसोड काम गर्ने मौका मिल्यो। पर्दामा पहिलोपल्ट देखिने मौका त्यहीँबाट मिलेको थियो।’

कलाकार भइसकेपछि ग्राहकलाई माछा पकाउँदै खुवाउनु उनलाई कुनै संकोचको काम लाग्दैन। कारण, उनले जिन्दगीमा यस्तो संघर्ष धेरैपल्ट गरिसकेका छन्। 

कलाकार बन्नलाई जीवनमा केमात्र गरेनन् र! 

भन्छन्, ‘दुनियाँ दिवाना गरियो। साथीहरूकोमा गएर अनेक काम गर्नेदेखि पसलपसलमा पुगेर तेल, साबुन र भुजियाको मार्केटिङ पो गरिएन कि? दिल्लीमा त झन् पीडादायी थियो मेरो जीवन। बाँच्न र बाँचेर कलाकार बन्नका लागि मैले कार पुछ्नेदेखि घरघरमा सामान पु-याउनेसम्म सब काम गरेँ।’

०००

धेरै दर्शकलाई लाग्छ– ‘रेशम फिलिली’ कामेश्वरको पहिलो फिल्म हो। कारण, उनी धेरै दर्शकमाझ त्यही फिल्मबाट नजरमा परे। तर उनको पहिलो फिल्म यो होइन।

त्यसअघि मैले उनको ‘छड्के’ हेरेको थिएँ। मलाईं लागेको थियो, त्यही उनको फिल्म हो। जब उनलाई पहिलोपल्ट भेटे, त्यतिवेलै थाहा भएको थियो त्यो पनि होइन रहेछ। 

‘खेल्न त त्यसभन्दा अगाडि पनि थुप्रै फिल्ममा खेलेको थिएँ,’ उनी स्वय्मले सुनाएका थिए, ‘‘लुट’मा दयाहाङ राईसँग लुडो खेल्दै गरेको सिन थियो नि, हो त्यो केटो मै त हो नि। ‘हाइवे’मा ऋचा शर्माको पछाडि जँड्याहाका रूपमा झण्डै डेढ सेकेन्डजति देखिने पनि मै त थिएँ नि। त्यस्तै ‘उमा’मा पनि प्रहरी हवल्दार बनेर हाकिमको पछिपछि हिँड्ने मै थिएँ। कसैले वास्ता पो गरेनन् त? तर, अलि धेरै सिन पाको पहिलो फिल्म चाहिँ ‘छड्के’ नै हो।’

सिनको कुरा गर्दा सम्झना आयो– कामेश्वरलाई अहिले फेरि पहिलेझै छोटा–छोटा सिन र गेष्ट रोलमा अफर आउन थालेका छन्। फिल्म नपाएर छट्पटिएका बेला ठूल्ठूला ब्यानरबाट पनि फोन आएछन्, ‘एउटा गेष्ट रोल छ, गर्ने हो?’ भन्दै। 

‘यस्तो अफर आउँदा मन चसक्क घोच्थ्यो, जिस्काएजस्तो लाग्थ्यो,’ कामबिहीन त्यो एक वर्ष सम्झँदै भन्छन्, ‘न म राजेश हमाल, न भुवन केसी। न मलाई एक सिन हेर्नका लागि कोही फिल्म हेर्न आउने! अनि मलाई किन गेष्ट रोलमा अफर?’

०००

लामो समय मिलेको जिउडाल र चकलेटी अनुहारलाई नै नेपाली फिल्म क्षेत्रले आफ्नो ‘हिरो’ ठान्यो। हिरो बन्न गाउँबाट काठमाडौं हिँड्ने तयारी गरिरहेका बेला धेरै साथीहरुले उनलाई ‘यो पनि हिरो बन्ने रे’, ‘हिरो जस्तो अनुहार छैन’ आदि भनेर जिस्काएको उनले अझै बिर्सिएका छैनन्। 

कतिले त अझै पनि भन्छन रे, ‘तँ मधेशी हो, जीवनभरमा तैँले मुस्किलले दुईतीनटा राम्रो फिल्म पाउँछस्। नत्र सबैले तँलाई हाँसोको पात्रमात्रै बनाउँछन्।’ 

उनलाई पनि कहिलेकाहिँ यो सब सही हो जस्तो लाग्छ। भन्छन्, ‘मेरो जस्तो अनुहारलाई लिएर सबैले फिल्म बनाउलान् भन्ने पनि लाग्दैन। यहाँ त निर्माताले सेफ साइड खोज्छन् नि।’

भएकै पनि यस्तै छ। उनले अहिलेजसम्म जति फिल्म निर्वाह गरेका छन्, लगभग सबैमा मधेशी चरित्र निर्वाह गरेका छन्। अधिकांशमा हाँसोको पात्रझैं प्रस्तुत भएका छन्। 

दर्शकमाझ चिनाएको फिल्म ‘रेशम फिलिली’कै चर्चा गरौं न, उनले त्यहाँ निर्वाह गरेको मधेशी पात्र हरिनारायण मण्डल ‘हरिया’ले फिल्ममा रिसको झोकमा बाख्रासँग जबर्जस्ती संसर्ग गर्न खोजेको दृश्य छ। त्यतिमात्रै होइन, ऊसँगैको साथी रेशम (विनय श्रेष्ठ)ले उभिएर पिसाब फेर्दा, ऊ त्यहाँ बसेर पिसाब फेर्छ।

मधेश र मधेशीलाई हेर्ने नेपाली फिल्म क्षेत्रको समग्र दृष्टिकोण कति त्रुटिपूर्ण र विभेदकारी छ, त्यसको प्रमाण यो फिल्म पनि हो। 

चाहना नहुँदानहुँदै पनि कामेश्वरले त्यतिवेला ती दृश्यमा काम गरेका थिए। यो फिल्मका लागि जब उनी अडिसन दिन पुगेका थिए, त्यतिवेलै उनलाई फिल्ममेकरले राखेको प्रस्ताव सुनेर उनी तीनछक परेका थिए। 

‘मलाई सुरुमै बाख्रासँग संसर्गको दृश्य सुनाइएको थियो,’ उनले सम्झिए, ‘यो त हँसाउने बहानामा अति नै भएन र भनेर मैले प्रश्न गरेँ। तर, मलाई ‘तिमीले यो दृश्य नगरे फिल्ममा काम दिँदैनौ’ भने। आफू मधेशी भएकाले मधेशीप्रतिको यो दृष्टिकोणले निकै दुःख लाग्यो। तर, पूरा फिल्म अवधिभर मेरो सिनचाहिँ राखिएको रहेछ। त्यसैले मैले फिल्म अस्वीकार गर्न सकिनँ। वर्षाैंदेखि अवसर खोजिरहेको मसँग अर्काे विकल्प पनि थिएन।’

यतिबेला नेपाली फिल्म जगत् मधेश पुग्न थालेका छ, मधेशी पात्रहरूलाई धेरै अवधिसम्म फिल्ममा देखाउन थालिएको छ। त्यसैले बजारमा भन्न थालिएको छ, ‘नेपाली फिल्ममा बल्ल मधेश र मधेशी समावेश हुन थाले।’ 

तर, यो समावेशिताको ध्येय भने अर्कै छ– मधेशी चरित्रलाई उपहास गरेर फिल्ममा हास्य सिर्जना गर्नु र दर्शक हँसाउनु। कामेश्वरलाई पनि यस्तै लाग्छ। 

‘मधेशी पात्र भन्नेबित्तिकै गम्छासम्छा लाउनैपर्छ, बोल्ने लवजले मात्र मधेशी चिनिन्छ भन्नेछ,’ उनी भन्छन्, ‘प्रष्ट नेपाली बोल्ने चाहिँ मधेशी नै नहुने सोच छ। अधिकांशमा मैथिली र भोजपुरी मिसाएरै नेपाली बोल्नुपर्छ। अचम्म लाग्छ, यसरी चरित्र चित्रण गरेर मधेशीको प्रतिनिधित्व गराउन खोजेको हो कि दर्शक हँसाउन?’

विडम्बना, यो यथार्थप्रति सचेत हुँदाहुँदै उनले आफूलाई दर्शक हँसाउने हतियारका रुपमा प्रस्तुत गरिएका चरित्र गर्न छाडेनन्। कारण, अभिनयप्रतिको उनको चरम भोक, अतृप्त तिर्खा। 

‘नदीको किनारमा उभिइरहेको एउटा असाध्यै तिर्खाएको मान्छे वरिपरि सफा पिउने पानी भेटेन भने नदीको फोहोर पानी नै किन नहोस्, पिउनलाई तयार हुन्छ,’ उनी भन्छन्, ‘किनकी त्यतिबेला सफा/फोहोरभन्दा पनि तिर्खा महत्वपुर्ण हुन्छ। हो, त्यस्तै म अहिले नेपाली फिल्ममा मेरो अभिनयप्रतिको तिर्खा मेटिरहेको छु। आशा छ, एकदिन राम्रा–राम्रा फिल्मको भोक पनि मेट्न पाउनेछु।’

आफूले जस्तो मधेशी चरित्र निर्वाह गरे, त्यसबाट आफ्नो समुदाय खुशी छैन भन्नेमा कामेश्वर निकै सचेत देखिए। भन्दै थिए, ‘मलाई थाहा छ, मैले निर्वाह गरिरहेको कति चरित्रले मेरै समुदायको मजाक उडायो। तर त्यो मेरो रहर होइन, बाध्यता थियो। मैले यसरी गरेको कामले कसैको मन दुखेको छ भने म दुइ हात जोडेर माफि माग्छु। र, भन्छु– अहिले म अभिनयको तिर्खामात्रै मेटिरहेको छु, एकदिन पक्कै त्यस्तो दिन पनि आउनेछ जतिबेला तपाईंहरुको दिल खुस बनाउने फिल्म पनि गर्न पाउनेछु।’

०००

हामी मुढामा बसेर गफ गरिरहेका थियौं। त्यहीबेला ग्राहकबाट फेरि बोलावट आयो, ‘भाइ, माछा ल्याऊ त अझै।’

त्यसपछि कामेश्वर उठेर किचनतिर लागे। ताप्के ग्याँसमा बसाए र माछा तार्दै हामीसँग गफिन थाले। 

मैले सोधेँ, ‘यो फिल्म इन्डष्ट्रीको सबैभन्दा चित्त दुख्ने पाटो के हो?’

जवाफमा उनले भने, ‘धेरै साँडा हुन खोज्छन्। भुसको डेढमा राईको दानाजस्तो लाग्ने क्या!’

‘अलि स्पष्ट पार्दिनुस् न!’

‘पहिलो फिल्मदेखि आजसम्म पनि पैसामा अड्काउने बानी सुध्रेको छैन्,’ उनले स्पष्ट पारे, ‘काम गराउने, पैसा नदिने, दिए पनि चार किस्तामा दिँदा खुब चित्त दुख्छ। थोरै पारिश्रमिक त्यो पनि चार किस्तामा दिँदा कति समस्या हुँदो हो, आफै सम्झिनुस् न।’

‘माछा पसलमा आउने ग्राहकले तपाईलाई कत्तिको चिन्छन् त?’ सोधियो । 

‘कतिले चिन्छन्, कतिले चिन्दैनन्। मलाई कलाकार भनेर चिन्नुअघि अर्कै व्यवहार हुन्छ। कलाकार भनेर चिनिसकेपछि अर्कै व्यवहार गर्छन्। मज्जा आउँछ यो सब भोग्न। म त यसलाई पनि खुसी नै भएर ग्रहण गर्छु,’ उनले भने। 

माछा तार्दातार्दै उनले उल्टै मलाई प्रस्ताव गरे, ‘माछा तार्न लास्ट मज्जा आउँछ, तार्नुहुन्छ? तार्ने भए तपाईंलाई पनि सिकाइदिन्छु। सबै भडाँस बाहिर निस्किन्छ।’ 

‘भडाँस?’

‘हो, भडाँस।’

त्यसपछि फिल्म खेल्न नपाउँदाको भडाँस उनले माछा तारेर बाहिर निकालिरहेको अनुमान लाउन गाह्रो भएन। बिदा माग्ने बेला भयो। फर्किने बेला कामेश्वरले मजाककै शैलीमा एउटा अनुरोध गरिरहेका थिए, ‘ल यसो बाहिरतिर मीठो माछा पाइन्छ भनेर मार्केटिङ गर्दिनुस् है। यही पसलबाट माथि उठेर फेरि फिल्म खेल्नुछ।’

माछाको त  मार्केटिङ गर्नै पर्दैन । जसले कामेश्वरले तारेको माछा एकपल्ट खाएको छ, त्यो फर्केर आएको छ। फिल्म क्षेत्रमा भन्छन् नि माउथ पब्लिसिटी । हो, कामेश्वरको माछाको स्वाद माउथ पब्लिसिटीले हिट भइरहेको छ। 

[ यसअघि राखिएको यो सामग्रीको शिर्षकले पेशागत अपमान झल्कायो भन्ने पाठकीय सुझावलाई मनन गर्दै  नयाँ शिर्षक राखिएको छ- सम्पादक ] 

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’
विश्वकप छनोट महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य
सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
विश्वकप छनोट महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार आइतबार, माघ ४, २०८२
देउवा पक्षीय काँग्रेस आज सर्वोच्च जाँदै आइतबार, माघ ४, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्