काठमाडौं– इरानका निर्वासित युवराज रेजा पहलवीले अमेरिकालाई तेहरानमा जारी ‘दमनको संयन्त्र’विरुद्ध निर्णायक कदम चाल्न आह्वान गरेका छन् ।
उनले सरकारविरोधी प्रदर्शनमा भइरहेको निर्मम दमन रोक्न र देशका निरंकुश शासकसँग कुनै सम्झौता नगर्न चेतावनी समेत दिएका छन् ।
शुक्रबार नेसनल प्रेस क्लबमा आयोजित एक कार्यक्रममा पहलवीले भने, “अमेरिकासँग एउटा विकल्प छ, के उसले यो ऐतिहासिक अवसर र प्रभावलाई मध्यपूर्व र विश्वको मार्ग परिवर्तन गरी स्थायी शान्ति र समृद्धि ल्याउन प्रयोग गर्छ वा कट्टरपन्थी इस्लामिक शासनको प्रलोभनमा परेर मध्यपूर्वलाई फेरि तिनका कट्टरपन्थी आतंकवादी एजेन्टहरूको हातमा सुम्पिन्छ ?”
इस्लामिक गणतन्त्र हालसम्मकै कमजोर अवस्थामा रहेको र आफूलाई बचाउन जे पनि गर्न तयार भएको उनले तर्क गरे ।
पहलवीले अगाडि भने, “आउने हप्ता र महिनाहरूमा तपाईंले इस्लामिक गणतन्त्रको फरक अनुहार देख्न सक्नुहुनेछ । यसले जिहाद, बन्धक बनाउने वा अराजकताको भाषा बोल्ने छैन । यसले आधा शताब्दीदेखि गरेझैँ सम्झौता, आपसी हित र व्यवहारिकताको कुरा गर्नेछ । यसले अमेरिकासँग नयाँ सम्झौता गर्नका निम्ति झुट बोल्न, छल गर्न र चोरी गर्न किताबमा भएका हरेक दाउपेच र छलकपटका साधनहरू प्रयोग गर्नेछ ।”
उनले चेतावनी दिँदै भने, “यदि, त्यो सम्झौता भए उसले प्राप्त गर्ने लाभ र सहुलियत आफ्ना लडाकु समूहलाई पुनर्जीवित गर्न र यस क्षेत्रमा थप पीडा र अराजकता निम्त्याउन प्रयोग गर्नेछ ।”
विपक्षका एक पुराना र प्रभावशाली व्यक्तित्व मानिने यी निर्वासित राजकुमारले प्रदर्शनकारीलाई आफ्नो लडाइँ जारी राख्न प्रोत्साहन गर्दै वर्तमान शासन छिट्टै ढल्ने दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “विश्वले तपाईंको आवाज र साहसलाई देखेको र सुनेको मात्र छैन, अब प्रतिक्रिया पनि दिइरहेको छ । यो शासनलाई जीवन सामान्य छ भन्ने भ्रम छर्न नदिनुहोस् । यत्तिको नरसंहारपछि हामी र यो शासनको बीचमा रगतको सागर छ । यी सबै अपराधीहरूको नाम सुरक्षित राख्नुहोस् । उनीहरूले गरेका कामका निम्ति उनीहरूमाथि मुद्दा चलाइनेछ ।”
ट्रम्पले आफ्ना विकल्पमाथि विचार गरिरहेका र तेहरानविरुद्ध सैन्य कारबाहीको सम्भावनालाई इन्कार नगरेका जनाइएको छ ।
इरानमा करिब दुई साताअघि देशको कमजोर अर्थतन्त्रका विषयमा विरोध प्रदर्शन सुरु भएको थियो । हाल त्यो आक्रोश शासन व्यवस्था र देशका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीईतर्फ मोडिएको छ ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीका अनुसार, शुक्रबार २०औँ दिनमा प्रवेश गरेको प्रदर्शनका क्रममा कम्तीमा २६ सय प्रदर्शनकारी मारिएका छन् । १९ हजारभन्दा बढी मानिस पक्राउ परेका छन् ।
देशमा धेरै दिनदेखि इन्टरनेट बन्द गरिएको छ, जसका कारण स्वतन्त्र सूचना प्राप्त गर्न मुस्किल छ । एलन मस्कको स्पेसएक्सले हाल देशभित्रका प्रयोगकर्ताका निम्ति आफ्नो स्टारलिंक स्याटेलाइट सेवा निःशुल्क रूपमा उपलब्ध गराएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।