काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य तथा तत्कालीन मध्य क्षेत्रीय कमान्ड हेमन्त प्रकाश ओली 'सुदर्शन'माथि अर्को मुद्दा पनि लगाइएको छ।
पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारको थुनामा रहेका ओलीमाथि राज्यविरुद्धको अपराधमा अर्को मुद्दा चलाइएको छ। गत जेठ १२ गते काठमाडौको सुकेधारामा भएको बम विस्फोटको घटनामा ओलीलाई जोड्दै प्रहरीले मुद्दा चलाएको हो।
त्यसबेला उनी नख्खु कारागारमै थिए। कारागारमा भए पनि उक्त घटनामा उनको अप्रत्यक्ष संलग्नता हुन सक्ने भन्दै उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको छ। त्यस्तै बसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा गत फागुन २४ गते भएको बम विस्फोटको घटनमा पनि ओलीलाई जोड्दै प्रहरीले मुद्दा दायर गरेको छ।
सोही घटनामाथि अनुसन्धान गर्न बयानका लागि उनलाई महानगरीय प्रहरी वृत महाराजगन्जको हिरासतमा लगिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
पछिल्लो समय विप्लव नेकपासँग सकारात्मक वार्ताको चर्चा चलिरहेको छ। नेकपा महासचिव विष्णु पौडेलले समेत नख्खु कारागारमै गएर भेट गरेको कुरा बाहिर आएका थिए। तर थप अर्को राज्य विप्लवको मुद्दामा ओलीलाई महाराजगन्ज प्रहरीको हिरासत लगिएको छ।
ओलीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत चैत ९ गते काभ्रेको दुर्गम गाउँबाट पक्राउ गरेको थियो। नख्खुस्थित एनसेलको कार्यालयअगाडि गत फागुन १० गते भएको बम विस्फोटको घटनामा संलग्न भएको भन्दै उनीमाथि श्यामप्रसाद गुरुङले जाहेरी दिएका थिए।
श्यामप्रसादका भाइ सिंहप्रसाद गुरुङले सोही विस्फोटमा परी ज्यान गुमाएका थिए भने अन्य दुई जना गम्भीर घाइते भएका थिए। उक्त घटनापछि ओलीले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका थिए।
सोही घटनामा संलग्न उनी पक्राउ परेका थिए। उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको थियो।
उनीसँगै पक्राउ परेका शिव धमला भनिने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार र वीरबहादुर कडायतसमेत ६ जनालाई जिल्ला अदालत ललितपुरले गत बैसाख १० गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।
यसअघि ओलीका तर्फबाट साधारण तारेखमा रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। तर सर्वोच्चले सो रिट खारेज गरिदियो। त्यसपछि उनी नख्खु कारागार चलान भएका थिए।
प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘बसुन्धरा र सुकेधारा बम विस्फोटको घटनामा राज्य विप्लवको मुद्दा लागेकाले बयान लागि ल्याइएको हो। बयान सकेपछि कारागार पठाउँछौं।’
गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो। आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जानेगरी भएको बम विस्फोट लगायतका घटनाले उक्त समूहले कुनै राजनीतिक दल नभई आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्नसमेत नपाउने, जहाँ भेटियो त्यहीँ पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई दिइसकेको थियो।
प्रतिबन्धपछि विप्लव समूहका ८ जनाको ज्यान गइसकेको छ। आफैले राखेको बम विस्फोट हुँदा काठमाडौंमा ५ जनाको ज्यान गएको थियो। भोजपुरमा तीर्थराज घिमिरे, ओखलढुंगा जिल्ला सेक्रेटरी नीरकुमार राई र सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलेको सर्लाहीमै प्रहरी कारबाहीमा ज्यान गइसकेको छ।
पछिल्लो समय विप्लव नेकपासँग सकारात्मक वार्ताको चर्चा चलिरहेको छ। नेकपाका महासचिव विष्णु पौडेलले समेत नख्खु कारागारमै गएर भेट गरेको र वार्ता सकारात्मक भएको कुरा बाहिर आएका थिए। तर त्यसको केही दिनमै ओलीलाई थप अर्को राज्य विप्लवको मुद्दा लगाउँदै प्रहरीले बयानका लागि महाराजगन्ज प्रहरीको हिरासत लगेको हो।
प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘बसुन्धरा र सुकेधारा बम विस्फोटको घटनामा राज्य विप्लवको मुद्दा लागेकाले बयान लागि ल्याइएको हो। बयान सकेपछि कारागार पठाउँछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।