काठमाडौं- काठमाडौं जिल्ला अदालतमा २३ हजार मुद्दा परेका छन्। आर्थिक वर्ष २०७४/२०७५मा नयाँ र जिम्मेवारी सरेका गरी कुल मुद्दाको संख्या २३ हजार पुगेको हो।
जिल्ला अदालतमा जिम्मेवारी सरेका ९ हजार २ थान मुद्दा विचाराधीन रहेका थिए भने १४ हजार ३ सय ८ थान नयाँ मुद्दा जिल्ला अदालतमा दर्ता भएका थिए। नयाँ मुलुकी संहिताले रिटको क्षेत्राधिकार विस्तार गरेको र थप केही कसुरमा समेत मुद्दा दायर हुने अधिकार दिएकाले यो वर्ष मुद्दाको संख्या गत वर्षभन्दा वृद्धि भएको छ। २३ हजार मुद्दामा यो वर्ष १३ हजार ४६ थान मुद्दा जिल्ला अदालतले किनारा गरेको छ। हाल जिल्लामा १० हजार २ सय ७४ थान मुद्दा बाँकी रहेका छन्।
तीन न्यायाधीशले कटाए पाँच सयको आँकडा
देशभरकै जिल्ला अदालतमध्ये धेरै मुद्दाको लगत रहेको जिल्ला अदालत काठमाडौंमा २९ जना न्यायाधीश कार्यरत छन्। तीमध्ये तीन न्यायाधीशले आर्थिक वर्ष २०७४/२०७५ मा पाँच सय भन्दा बढी मुद्दाको फैसला गरेका छन्।

जिल्ला अदालतको पहिलो नम्बरमा रहेका न्यायाधीश रमेशराज पोखरेलले ५ सय ८९ थान मुद्दा फैसला गरेका छन्। उनीपछि न्यायाधीश अशोककुमार बस्नेत रहेका छन्। जिल्ला न्यायाधीश बस्नेतले ५ सय ११ र अर्का जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले ५ सय ५ थान मुद्दाको फैसला गरेका छन्। तीनमध्ये भट्टराई जिल्ला अदालतमा पछि आइपुगेका थिए। त्यस्तै सात जना न्यायाधीशले ४ सयको आँकडा पार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।