'अनुहारको रङ उडेको देखेपछि मात्रै झस्किन्छु'

निर्मला घिमिरे | २०७६ श्रावण २ बिहीबार | Thursday, July 18, 2019 १५:२०:०० मा प्रकाशित

काठमाडौं– टाउकोमा रुमाल बाँधेर आफ्नो पुछिएको सिँउदो ढाकिरहँदा उदास महसुस गर्छिन्, गोरखाको सुलिकोट गाउँपालिका–३ की शोभा नेपाली। 

मनभरि कुरा खेलिरहन्छन्। अनि घरिघरि आलो घाउले चहर्‍याइरहन्छ उनको छाती। श्रीमान बितेको २ महिना बितिसक्दा पनि उनलाई विश्वास लाग्दैन।

‘बेलाबेलामा आँखा उहाँ आउने बाटोतिर पुग्छन्, कतै आउनुहुन्छ कि जस्तो लाग्छ,’ शोभा टोलाउँदै भन्छिन्।

OOO

२०७४ माघ ३ गते। शोभालाई अझै ताजै छ।

‘घरमा छोराछोरीको राम्रो ख्याल राख है, दुई वर्षमा त म आइहाल्छु,’  यति भनेर बिदा भएका सुकबहादुर नेपाली लेभर कामका लागि कतार पुगेका थिए। कतार गएको डेढ वर्षसम्म उनले घरमा पैसा पठाइरहन्थे। 

‘विदेश जाँदा लागेको ऋण तिरेर भर्खरै सक्किएको थियो। अब कमाएर उहाँ घर फर्कनुहुन्छ अनि खुसीसँग नेपालमै केही गर्नुपर्छ भनेर सोच्न नपाउँदै दैवको आँखा लाग्यो,’ गहभरि आँसु पार्दै उनी भन्छिन्।

गत बैसााख २० गते उनी बस्ने कोठामा मृतक अवस्थामा भेटिए सुकबहादुर। बैसाख २८ गते सुकबहादुरको शव नेपाल ल्याएर अन्तिम संस्कार पनि भयो। 

तर, शोभालाई सुकबहादुरको मृत्यु भएको छैनझैं लागिरहन्छ। ‘मलाई अझै उहाँ घर आउनुहुन्छ, उहाँलाई केही भएको छैन जस्तै लागिरहन्छ। फेरि आफैंलाई हेर्छु, अनुहारको रङ उडेको देखेपछि मात्रै झस्किन्छु,’ उनी सुँक्सुकाउँदै भन्छिन्। 

उमेरले शोभा ३६ वर्षकी भइन्। 

१८ वर्षअघि शोभाको सुकबहादुरसँग विवाह भयो। जीवनको यात्रा राम्रोसँग चलिरहेको थियो। सुकबहादुरको खेतबारी थोरै मात्रै छ। 

शोभा त्यही खेतबारी र घरको काम गर्थिन्। सुकबहादुर प्रायः भारतसम्म पुग्थे र मजदुरी गरेर पैसा ल्याउँथे। भारत–नेपाल आउने जाने गरिरहँदा उनलाई त्यो भन्दा राम्रो कमाउने रहर जाग्यो। पहिलो पटक नै रोजगारीका लागि सुकबहादुर कतार गए।

‘सुन साइली, परदेशबाट म आउँला, चालिस कटेसी रमाउँला,’ सायद हेमन्त रानाको गीतजस्तै ४० कटेपछि रमाउने सोचेका हुँदा हुन्।

एकपटक परदेशबाट फर्किएपछि खेतबारी जोड्ने अनि खुसीसँग बस्ने सुनाएका थिए उनले शोभालाई। तर, उनको वैदेशिक रोजगारीको पहिलो यात्रा नै अन्तिम यात्रा बन्यो। 

परदेश पुगेका सुकबहादुरले ऋण मात्रै तिरे। तर, ४० कटेपछि श्रीमती, छोराछोरीसँग रमाउने उनको सपना अधुरै रह्यो। उनीहरूका तीन छोरा र एक छोरी। श्रीमान् बितेपछि चार सन्तानको जिम्मेवारी शोभाकै काँधमा थपिएको छ। 

सुकबहादुर हुँदा ठूलो आड थियो शोभालाई। दुवैको मेहेनतले घरबार चलाएका थिए। तर, शोभाको आशाको दियो निभेको छ। जेठा छोरा १६ वर्ष भइसके। ‘बुबा बितेपछि स्कुल पनि जान छाड्यो, पढ्न मनै गरेन,’ शोभा सुनाउँछिन्। 

८ वर्षका दुई जना जुम्ल्याहा छोरा छन्। उनीहरू गोरखाकै एक सामुदायिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्। सानी छोरी ४ वर्षकी छिन्। 

अब त सन्तान हुर्काउन/पढाउन निकै सकस भएको छ उनलाई। भन्छिन्, 'के गरुँ, आउने बाटो पनि कहिँकतै छैन।’ शोभालाई कहिलेकाहीँ छोराछोरीले पिरोल्छन्, ‘आमा, बा कहिले आउनुहुन्छ?’

सन्तानको यो प्रश्नले नै भक्कानिन्छिन् उनी। बा आउने आशामा रमाइरहेका सन्तानलाई उनी भन्न पनि सक्दिनन् ‘बाबा अब कहिल्यै फर्कन्नन्’ भनेर।

गह भिजाउँदै शोभा भन्छिन्, ‘अब बुझ्ने भएपछि आफैं बुझ्नेछन्।’