काठमाडौं- मानव बेचबिखन मुद्दामा नुवाकोटका वडाध्यक्ष सुनबहादुर तमाङलाई सफाई दिएको भोलिपल्ट उच्च अदालत, पाटनले मानव बेचबिखन मुद्दाका ३ जना अभियुक्तलाई दोषी ठहर गर्ने फैसला गरेको छ।
उच्च अदालतले रोल्पाकी सिस्ने हिमाल(नाम परिर्वतन)लाई बिक्री गरेको भनी दायर मुद्दामा मंगलबार अभियुक्तहरु श्यामलाल डंगोल, ज्ञानेन्द्र चनहरा र सुनिता मुरमुरलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जनही २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको उच्चका रजिष्ट्रार बाबुराम दाहालले बताए।
जिल्ला अदालत, काठमाडौंले बिक्री गर्ने मध्येका मुख्य नाइके श्यामलाल डंगोललाई १० वर्ष मात्र कैदको फैसला सुनाएको थियो। त्यसमा उच्चले १० वर्ष थप गरिदिएको हो। जिल्लाले ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने भनेकोमा उच्चले १ लाख ५० हजार रुपैयाँ थप गरिदिएको छ।
सिस्ने हिमाललाई नेपालबाट कलकत्ता पुर्याउने डंगोल, ज्ञानबहादुर चनरा र सुनिता मुरमुरलाई पनि उच्चले मुख्य अभियुक्त बराबरकै फैसला सुनाएको छ। जिल्लाले डंगोललाई मात्र दोषी ठहर गरेको थियो।
उच्च अदालतका न्यायाधीशद्धय यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलाशले सिस्ने हिमाललाई बिक्री गरेको अभियोगमा श्यामलाल डंगोलसहितका तीन प्रतिवादीलाई दोषी ठहर गरेको हो।
बेहुली भएको थाहै नभएकी युवतीको विवाहको जग्गेदेखि कोठीसम्मको यात्रा
सिस्ने हिमालको दुःख विवाहको जग्गेमा बसेदेखि सुरु भएको थियो। विवाहको अघिल्लो रात गाउँले एक जना केटी घर छोडेर भागेपछि उनी अचानक बेहुली भएकी थिइन्।
बेहुली लिन आएका जन्ती यसै फर्काउन हुन्न भन्ने मान्यताको जाँतोमा पिसिन उनी बाध्य भएकी थिइन्। बेहुली हराएपछि ठूलाबडाले उनलाई बेहुली बनाएर पठाएका थिए। उनको विवाह मञ्जुरीबीनानै भएको थियो।
विवाह गरेको केही समयपछि उनका पति भारत गए। उनले छोरो जन्माइन्। छोरी एक वर्षको हुदाँसम्म पति नआएपछि उनी र ससुरा भारत खोज्न गए। भारत पुग्दा पतिले अर्कै केटीसँग घरजम गरेको उनलाई पत्तो भयो। त्यसपछि उनी पनि भारतमा बसिन्। केही समय भारत बसेर उनी गाउँ फर्किइन्। गाउँमा आए पनि एक्लो भएकाले उनी विदेश जाने चक्करमा लागिन्।
गाउँकै भतिजी र देवर दुवैको सल्लाहमा कम्पनीमा काम गर्न विदेश जाने निर्णय गरेकी उनको भेट श्यामलाल डंगोल भन्ने व्यक्तिसँग भयो । जसले उनलाई सिरिया पठाउने भन्दै फकाएका थिए।
उनीहरु भारतको बाटो हुँदै सिरिया जाने भनेर विराटनगर हुँदै सडक मार्गबाट कलकत्ता पुगे।
२०७१ साल बैसाख १ मा उनीहरु भारतको सीमामा पुगेको खुलेको छ। भारत हुँदै उनी सिरिया पनि पुगिन्। तर, सिरियामा काम भनिए जसरी कम्पनीमा थिएन। उनलाई यौनदासीको रुपमा काम गराइयो।
उनलाई सिरियाबाट पुनः फर्काएर भारत ल्याएर समेत यौनधन्दामा समेल गराइएको थियो। केही समयपछि उनी त्यहाँबाट भागेर नेपाल आइन्।
नेपाल आएपछि उनले आफ्ना देवर ज्ञानेन्द्र, उनका साथी श्यामलाल डंगोल, डंगोल पत्नी सुनिता, भक्ते परियार र टोपलाल अधिकारीले आफूलाई बेचेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिन्।
भक्ते परियार र टोपलाललाई भने प्रहरीले नै समाउन सकेको थिएन। त्यसकारण पनि सरकारी वकिलले उनीहरु विरुद्ध अभियोग नै दर्ता गरिएन।
सोही मुद्दामा जिल्लाको फैसलामा मंगलबार उच्चले सजाय थप गर्दै फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।