काठमाडौं– नेपाली उखान नै छ- दशा बाजा बजाएर आउँदैन। यो उखान पाँचथर ओयाम-९ का केशन माबो लिम्बूको जीवनसँग ठ्याक्कै मेल खायो।
कहिल्यै कल्पना नगरेको अप्रत्यासित घटना आइलाग्यो लिम्बूको जीवनमा।
मलेसियाको युरो एसएमई कम्पनीमा सामान प्याकिङको कामका लागि २ लाख रकम बुझाएर गएका सनी लेबर काममा पुगे। उनले कम्पनीमा सामान लोड-अनलोडको काम गर्नुपर्यो।
घरका कान्छा छोरा भएकाले केशनले त्यति धेरै दुःख नेपालमा कहिल्यै भोगेका थिएनन्। तर बिस्तारै परिस्थितिले थिच्न थालेपछि मलेसियाको बाटो रोजेका उनले साहुबाट लिएको सयकडा तीन सम्झिए। परिवारको जिम्मेवारी सम्झिए र काम गर्न थाले।
नेपालबाट मलेसिया गएको डेढ वर्ष भएको थियो। उनी निरन्तर आफ्नो काम गरिरहेका थिए।
तर, २०१७ जुलाई २३ उनका लागि कालो दिन बनेर आयो। काम गरिरहेका बेला मेसिन अचानक माथिबाट झर्यो। टाउकोमा उक्त मेसिन बजारिएपछि उनी भुइँमा अचेत हुने गरी ढले। त्यसपछि के भयो, उनलाई केही थाहा भएन।
१४ दिनपछि होस खुल्दा
कमाएर परिवारमा खुसी ल्याउन परदेश पुगेका लिम्बू ३ महिनासम्म मलेसियाकै हस्पिटलमा बस्नुपर्यो।
टाउकोमा मेसिन झरेपछि बेहोस भएका उनी १४ दिनपछि मात्रै होसमा आए। ‘बेडमा पल्टिरहेको थिएँ। टाउको चर्किएर दुखिरहेको थियो,’ यति भन्दै गर्दा केशन अहिले पनि झस्किन्छन्, '१४ दिनपछि मैले पुर्नजन्म पाएँ।’
उनको टाउकोमा ६ सेन्टिमिटर गहिरो चोट लागेको थियो। २८ वटा टाँका लगाइएको डाक्टरको प्रेस्क्रिप्सनमा उल्लेख छ।
म त अब घर जान पनि पाउँदिन कि भन्ने सोच्थेँ, तर जस्तो अवस्थामा भए पनि नेपाल त आउन पाएँ,’ घर फर्कन पाएकोमा उनी खुसी व्यक्त गरिरहेका थिए।
परदेशमा टन्न पैसा कमाएर नयाँ सपना बुनेर फर्कने योजनामा थिए उनी। तर एक झट्काको दुर्घटनाले सपना पनि उनीजस्तै लम्पसार परे।
'हस्पिटलमा ३ महिना बिताउनुपर्दा निकै कष्ट भयो। दिनभरि त उज्यालो हुन्थ्यो, धेरै कुरा मनमा खेल्दैन थियो,' उनी भन्छन्, 'जब रात पर्थ्यो, निकै पीडा हुन्थ्यो। निदाउन पनि मुस्किल।'
परदेशको ठाउँमा एक्लै। त्यही पनि हस्पिटलको बसाइ। ३ महिना आफ्ना लागि ३ वर्षझैं लागेको उनी सुनाउँछन्।
आमाको त्यो फोन
होस खुल्नेबित्तिकै पनि केशन कुरा गर्न सक्ने अवस्थामा भने थिएनन्। बिस्तारै उनको अवस्था सुध्रिँदै गयो।
उनी हस्पिटलको बेडबाट आफन्तहरुसँग कुराकानी गर्न सक्ने भए। आफू होसमा नहुँदा आमाबुबा लगायत आफन्त परिवारहरुको अवस्था कस्तो भयो होला, त्यो त अचेत केशनलाई थाहा हुने कुरै भएन।
गाउँबाट आमाले फोन गरेर 'तँ बाचिस् मेरो छोरा, अब छिट्टै आइज, कहिल्यै जानुपर्दैन विदेश' भनेर फोनमै डाँको छाडेर रोएको सुनाउँदा केशनका आँखा रसाउँछन्।
आँखाभरि टिलपिलाएको आँसुलाई रोक्ने प्रयास गर्दै उनले भने, ‘आमाबुबाको खुसी खोज्दै हिँडेको छोरो, उनीहरुकै आँखामा आँसु पो ल्याएँछु।’
कमाइभन्दा खर्च बढी
परदेशको मिठो सपना सजाएर म्यानपावर कम्पनीलाई २ लाखभन्दा बढी रकम बुझाएका उनको उपचारकै लागि निकै रकम बेहोर्नुपर्यो। जुन कमाइको खर्चले धानेन।
‘खै के कमाइयो र? डेढ वर्ष काम गरेर कमाइ गरेको पैसा ३ महिना हस्पिटल बस्दा स्वाहा भयो,’ केशन झस्कन्छन्, ‘उपचारमा केही रकम कम्पनीले पनि सहयोग गर्यो। आफ्नै पनि ३-४ लाख सिद्धियो।’
आफ्नो कमाइभन्दा खर्च बढी भए पनि बाँचेर स्वदेश फर्कन पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झन्छन्, केशन।
टाउकाको खाटो बसिसकेको घाउ देखाउँदै उनले भने, 'अर्काको मुलुकमा सबै शरीर, बल सकेर आइयो। यतिको हुन्छु भन्ने नै लागेको थिएन।’
२० वर्षकै उमेरमा केशनले किन रोजे मलेसिया?
केशन रोजगारीका लागि मलेसिया जाँदा उमेरले बल्ल २० वर्ष पुगेका थिए।
एसएलसीसम्मको पढाइ सकेर घर बसिरहेका उनी उच्च शिक्षा अध्ययन गर्न चाहन्थे। तर, त्यसका लागि आर्थिक अवस्था बजबुत थिएन।
‘आमाबुबा वृद्ध भइसक्नुभयो। परिवार ठूलो छ,' उनी भन्छन्, 'जिम्मेवारी आफ्नै काँधमा थपिएपछि घरव्यवहार चलाउन कठिन भयो, अनि परदेश रोजेँ।'
उनी आमाबुबाका कान्छा छोरा हुन्। घरमा आमाबुबासहित २ दाजु र ५ जना दिदीबहिनी छन्।
दाजुहरु आआफ्नै काममा व्यस्त रहेकाले आमाबुबा र दिदीबहिनीको जिम्मेवारी केशनकै काधँमा थुप्रियो।
कामका लागि उनी देशमै धेरै समय नभौंतारिएका होइनन्। तर भनेजस्तो काम नपाए विदेशले उनलाई तान्यो।
पाँचथरबाट काठमाडौं आए र आफू जाने गन्तव्य मुलुकबारे बुझे। यही क्रममा उनी पुगे, ट्रस्ट म्यानपावर कम्पनी। त्यहाँ उनलाई मलेसियामा सामान प्याकिङ गर्ने काममा डिमान्ड आएको र कमाइ पनि एकदम राम्रो हुने सुनाइयो।
लेबी शुल्क पनि नलाग्ने, काम र कमाइ राम्रो हुने सुनेपछि उनी १४ जनवरी २०१६ मा मलेसिया उडे।
कोही पनि परदेश जानु नपरोस्
परदेशको कहालीलाग्दो यथार्थ आफैले भोगेर आएका उनी रोजीरोटीकै खोजीमा कोही पनि युवा विदेश जान नपरोस् भन्ने सोच्न थालेका छन्।
कमजोर आर्थिक अवस्थाकै कारण विदेशिन बाध्य युवालाई रोक्न सरकारले देशमै काम गर्न प्रेरणा, हौसला र अवसर सिर्जना गर्नुपर्ने उनी बताउँछन्।
‘आफ्नै देश स्वर्ग जस्तो छ, स्वर्ग जस्तो देश छाडेर कोही पनि नर्क नजानु होला,' उनी भावुक हुँदै भन्छन्, 'परदेश त नर्क नै हो कि जस्तो लाग्यो।’
पहिलो पटक रोजगारका लागि मलेसिया पुगेका केशनको परदेश यात्रा सोचे जस्तो भएन। न पैसा कमाउन सके न त सग्लो ज्यान नै फर्कन पाए।
‘अब म सधैंलाई ठिक हुन्छु कि फेरि बल्झिने हो, टाउकाको चोट अलि संवेदनशील हुन्छ भन्छन्,’ उनी निराशा प्रकट गर्छन्।
केशन कार्यस्थलमा दुर्घटनामा परेर कोमामा पुगे पनि उपचार सफल भई स्वदेश फर्कन सफल पात्र हुन्। उनी जस्ता धेरै युवा दुर्घटनामा परी वर्षौंदेखि कोमामा बेहोस अवस्थामा छन्।
हाल कतार, बहराइन ओमान, कुवेत लगायत मुलुकमा २८ जना नेपाली कामदार कोमामा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। केही दिनअघि मात्रै एक जनालाई भने नेपाल फर्काइसकिएको छ।
यस्ता नेपालीलाई स्वदेश फर्काउने तयारी सरकारले थालिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा केही समयअघि बसेको बोर्ड बैठकले यसबारे निर्णय गरेको हो।
बैठकले करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएपछि मृत्यु भएका तथा बिदामा आएको अवस्थामा उपचार क्रममा मृत्यु भएका ११४ जना कामदारका हकदारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ। आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप ६ करोड ६६ लाख व्यवस्था गरेको छ। सिफारिस आएको ७ दिनभित्र कोषबाट आर्थिक सहायता उपलब्ध गराइने बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदी बताउँछन्।
उपचारपछि होस खुलेर कोमाबाट ल्याइएका कामदारहरुलाई भने सरकाले विरामी वा अंगभंगको प्रकृति हेरेर वैदेशिक रोजगार कल्याणकारी कोषबाट अधिकतम ७ लाख नगद उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।