राजविराज- सप्तकोशी नदीमा पानीको बहाव घटेको छ। बिहीबारदेखिको लगातार वर्षाका कारण शनिबार राति पौने ४ लाख क्युसेकभन्दा बढी पुगेको पानीको तह आइतबार बिहान ८ बजे ३ लाखभन्दा तल झरेको हो।
शनिबार मध्यरातमा लिइएको आँकडामा कोशीमा पानीको तह ३ लाख ७९ हजार क्युसेक थियो। तर, आइतबार बिहानको आँकडामा पानीको तह करिब एक लाख क्युसेकले घटेको छ। सो अनुसार कोशीमा २ लाख ६४ हजार क्युसेक पानी बगिरहेको छ।
बिस्तारै वर्षामा कमी आएकोले कोशी नदीमा पानीको तह घट्दै गएको हो।
सप्तरीमा १५ सय घर डुवानमा, ३ सय विस्थापित
यसैबीच वर्षाका कारण आएको बाढी तथा डुवानका कारण सप्तरीमा १ हजार ५ सय घर डुवानमा परेका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले करिब ३ सय परिवार विस्थापित भएका जानकारी दिए।
हालसम्म सप्तरीमा मानवीय क्षति नभएको र विस्थापित तथा डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा ल्याइसकिएको उनले बताए।
सप्तरीको खाँडो खोलाले डुबानमा पारेको तिलाठी-कोइलाडी क्षेत्रका करिब ३ सय परिवारलाई नेपाली सेनाको टोलीले शनिबार मध्यरातमा सुरक्षित स्थानमा सारेको छ। स्थानीयको अवरोधका कारण सो क्षेत्रमा बाँध बनाउन नसक्दा वर्षेनी डुवानमा पर्दै आएको छ। यस वर्ष पनि खाँडो खोलामा आएको बाढीका कारण उक्त क्षेत्र पूरै डुवानमा परेको हो।
सप्तरीका सिडिओ पौडेलले यस क्षेत्रमा रहेका प्रभावितको लागि आवश्यक त्रिपाल तथा अन्य राहतका सामाग्री पठाउने तयारी भइरहेको जानकारी दिए।
बोदेबर्साइन नगरपालिका र बलानविहुल गाउँपालिकाको सीमा भएर बग्ने विहुल खोलाको बाढी पस्दा बलानविहुल-३ का ३० घरमा क्षति पुगेको छ।
हनुमाननगर कंकालिनी-१२ र १३ नम्बर वडामा कोशी र खाँडो खोलाका कारण १ सय ५० भन्दा बढी घर डुवानमा परेका छन्। यस क्षेत्रका प्रभावितहरुका लागि १ हजार त्रिपाल वितरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
त्रियुगा नदीको बाँध भत्किँदा सप्तकोशी गाउँपालिका-६ र ७ मा करिब ३ सय घर डुवानमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।