वासिङ्टन- संयुक्त राज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ। दुवै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल सुरु भएको हो।
अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुवै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो। अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोधस्वरुप कतिपय अमेरिकी सामानमा करवृद्धि गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अवरुद्ध व्यापार वार्ता पुनः थालनी गर्ने विषयमा सहमति भएको थियो। विश्वका २० औद्योगिक राष्ट्रहरुको शिखर सम्मेलन 'जी-२०' मा सहभागी हुन जापानको ओसाकामा रहँदा दुवै नेताबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो।
अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिऊ हे र वाणिज्य मन्त्री झोङ शानसँग मङ्गलबार टेलिफोनबाट कुराकानी गरेका थिए।
ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददाताहरुसँग कुरा गर्दै वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिए।
अमेरिकी टेलिभिजन 'फक्स विजनेस नेटवर्क'लाई दिएको अन्तर्वार्तामा कुडलोले दुवै देशका उच्च व्यापार मध्यस्थकर्ताबीच भएको वार्ता प्रारम्भिक रहेको बताउँदै दुवै पक्षबीच सायद तत्कालै बैठकको आयोजना हुने संकेत गरे। उनले चीनले जतिसक्दो चाँडो अमेरिकी कृषि उत्पादन खरिद गर्न थालेलगत्तै सम्भवतः वार्ता पनि सुचारु हुने बताए।
चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको संक्षिप्त वक्तव्यमा ओसाकामा दुवै राष्ट्रपतिबीच भएका विचार आदानप्रदानकै सेरोफेरोमा सहमति खोजिने उल्लेख छ।
अमेरिका र चीनले एक अर्का मुलुकका करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।