काठमाडौं– सरकारले कर छली भएको हुने सक्ने शंका गर्दै वियर उत्पादन गर्ने उद्योगलाई निगरानीमा राख्दै अध्ययन थालेको छ।
ठूला करदाता कार्यालयले नेपालमै दर्ता भई वियर उत्पादन गर्ने ब्रुअरीहरुले कर छली गरेको हुनसक्ने भन्दै अध्ययन थालेको हो।
नेपालमा अहिले झन्डै एक दर्जन ब्रुअरीले वियर उत्पादन गर्दै आएका छन। वियर उत्पादनमा नेपालका उद्योगहरु आत्मनिर्भरको बाटोतर्फ छन्। तर, यस्ता उद्योगहरुले कर छलीका लागि विभिन्न उपाय अपनाउने गरेको ठूला करदाता कार्यालयले फेला पारेको छ।
कार्यालयका अनुसार वियर उत्पादक कम्पनीहरुले उत्पादनको परिणाम लुकाउँदै आयकर, अन्तशूल्क र भ्याट छली गरिरहेको खुलासा भएको हो। वियर उत्पादक उद्योगले कच्चा पदार्थ कम देखाउनेदेखि उत्पादन नै कम भएको प्रमाण पेस गरी कर तिर्ने गरेको फेला परेको कार्यालय स्रोतको भनाइ छ।
कार्यालयका अनुसार वियर उत्पादन उद्योगले कच्चा पदार्थ, उत्पादनमा प्रयोग हुने कनिका र उत्पादनमै गडबढ गर्ने गरेको जनाएको छ।
त्यति मात्रै होइन, वियरको बोत्तलमा प्रयोग हुने बिर्को तथा बिल नै नकाटी वियर बिक्री गर्ने गरेकोसमेत फेला परेको ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासक धनिराम शर्माले जानकारी दिए। वियर उत्पादन कम्पनीको प्रचारप्रसार र बिक्रीअनुसार कर दाखिला नहुने गरेको गुनासो आउने थालेपछि कार्यालयले उद्योगमा छापा मार्दै अध्ययन गर्न थालेको कार्यालयको भनाइ छ।
कतिपय उद्योगका आवश्यक कागजपत्र लिने काम भइसकेको छ भने कतिले छली गरेको करको हिसाबसमेत टुंगिइसकेको ठूला करदाता कार्यालयको भनाइ छ।
गोरखा ब्रुअरीले पनि कर छली गरेको प्रमाणित भइसकेको बताइएको छ। गोरखा ब्रुअरी सोही कारण पनि अहिले अदालत धाइरहेको छ। गोरखा ब्रुअरीले अहिले पोखरा उच्च अदातलमा कर छलीको विषयमा मुद्दा लडिरहेको छ।
योसँगै अन्य उद्योगले पनि कर छली गरेको फेला परिसकेको कार्यालयको भनाइ छ। नेपालमा ६० प्रतिशत हिस्सा ओगेटेको गोरखा ब्रुअरीकै कर छलीको विषय सतहमा रहँदा अन्य उद्योगहरु कर छलीमा सामेल भएको पुष्टि भएको छ। कार्यालयले कर छली गर्ने अन्य उद्योगको भने नाम खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।