गत वर्षका तुलनामा धान रोपाईं आधा कम, प्रदेश २ मा १० प्रतिशत मात्र

नेपाल लाइभ | २०७६ असार २४ मंगलबार | Tuesday, July 09, 2019 १५:२८:०० मा प्रकाशित

काठमाडौं- रोपाईं हुने मुख्य समय असार सकिन लाग्दा पनि मुलुकको प्रमुख खाद्यबाली धान रोपाईं गत वर्षका तुलनामा आधा मात्र भएको छ। असार तेश्रो हप्ताको अन्तिम दिन अर्थात् २२ गते सम्ममा मुलुकभर २३ दशमलव ७६ प्रतिशत मात्र रोपाईं सकिएको छ। 

गतवर्षको यही समयमा ५२ दशमलव ९५ प्रतिशत धान रोपाईं सम्पन्न भईसकेको कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले जनाएको छ। 

कृषि विभागले गत वर्षको तुलनामा यसवर्ष कम धान रोपाईं हुनुमा मुख्यतया २ वटा कारण जिम्मेवार रहेको जनाएको छ। विभागका अनुसार यसवर्ष वर्षे मनसुन ढिलो गरी मात्र सुरु हुँदा र तराईका अधिकांश जिल्लामा रसायनिक मलको अभावमा रोपाईं कम भएको हो। 

धान खेती हुने ठूलो क्षेत्रफल जमिनमा सिंचाईको सुविधा नहुँदा रोपाईंका लागि वर्षेपानीको भर पर्नुपर्ने अवस्था छ। धान उत्पादनका लागि मुख्य क्षेत्र मानिएको प्रदेश २ मा नै सबैभन्दा कम धान रोपाईं भएको छ। 

प्रदेश २ मा हालसम्म १० प्रतिशत मात्रै धान रोपाईं सकिएको कृषि विभागको तथ्याङ्कले देखाएको छ। 

क्षेत्रफलका हिसाबले सबैभन्दा कम धानखेती हुने कर्णाली प्रदेशमा भने सबैभन्दा धेरै ५१ दशमलव ४२ प्रतिशत रोपाईं सकिएको छ। अन्य प्रदेशको अवस्था हेर्दा प्रदेश १ मा १८ दशलमव ४५ प्रतिशत प्रदेश ३ मा २० दशमलव ९ प्रतिशत, गण्डकी प्रदेशमा २८ दशमलव ५३ प्रतिशत, प्रदेश नंम्बर ५ मा २९ दशमलव ५१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ४४ दशमलव ४१ प्रतिशत रोपाई सकिएको छ। 

भौगोलिक अवस्था अनुसार रोपाईंको अवस्था हेर्दा सबैभन्दा धेरै उच्च पहाडी क्षेत्रमा औसत ३४ दशमलव ६४ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ३१ दशमलव १५ प्रतिशत र तराईमा २० दशमलव ६१ प्रतिशत मात्र रोपाई सकिएको छ। 

अघिल्लो वर्ष यही अवधिमा उच्च पहाडी क्षेत्रमा ६१ दशमलव ६५ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ५५ दशमलव ६१ प्रतिशत र तराईंमा ५१ दशमलव ५८ प्रतिशत रोपाई सकिईसकेको थियो। 

मुलुकको अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा मुख्य भूमिका खेल्दै आएको धानबाली रापाई अघिल्लो वर्षको तुलनमा आधा भन्दा बढीले घट्दा त्यसको असर आर्थिक वृद्धिदरमा पनि देखिने आँकलन गरिएको छ।