पर्दामा मात्रै देख्नेले दिया पुनमाथि बनाएको सीधासाधा इमेज हुन्छ, सोझी गाउँले युवती। किनकि फिल्म ‘वीरविक्रम’मा उनको भूमिका गाउँले युवतीकै थियो भने अब रिलिज हुने ‘मिस्टर झोले’मा पनि यस्तै भूमिका छ।
त्यसैले त फिल्ममा दियालाई हेरेकाले बाहिर कतै भेट्यो भने हत्तपत्त ठम्याउन सक्दैनन्। पर्दाकी दियाभन्दा बिलकुल फरक छिन् पर्दा बाहिर।
उनले निर्वाह गरेका पात्रसँग उनको वास्तविकता रत्तिभर पनि मिल्दैन। तुलना गर्न पनि मिल्दैन। पर्दामा कहाँ नेपालको दुर्गम गाउँकी युवती अनि यथार्थमा बेलायतमा हुर्केबढेकी दिया।
तर, पर्दामा मात्रै देखिरहेकालाई यथार्थमा भेट्दा पनि आँखाले त्यसैसँग मिल्दोजुल्दो अनुहार खोज्दो रहेछ। ठ्याक्कै त्यस्तै भयो केही दिनअघि। काठमाडौं पुतलीसडकस्थित एक कफीसपमा हामीले भेट्ने निधो गरेका थियौं। हामी पुग्नु केही समयअघि नै त्यहाँ पुगिसकेकी दियालाई ठम्याउन मुस्किल पर्यो। दियाको स्वरुप उनी नजिकै बसिरहेकी अर्की युवतीको अनुहारमा खोजिरहेका थिए हाम्रा आँखा।
चिनापर्ची गराइदिने जिम्मा पाएका मित्र दिनेश सिटौलाले ‘ब्वाइज कट’ कपाल काटेकी एक टिपटप पहिरनवाली युवतीलाई देखाउँदै भने, ‘उहाँ दिया पुन।’
दिमागमा उनीबारे बनेको तस्बिर शीशाको फ्रेम भित्ताबाट भुइँमा झरे झैं झर्यामझुरुम भयो।
सुरुमै सोधियो– फिल्ममा हेरेर तपाईंलाई भेट्न आउने सबै झुक्किन्छन् कि म मात्रै?
उनले धेरै जना झुक्किने गरेको बताउँदै कतिले त कन्फर्म गर्न ‘तपाईं नै दिया हो नि?’ भनेर सोधेको बताइन्।
हङकङमा जन्मेकी र लन्डनमा हुर्केकी उनलाई पर्दामा गाउँले युवतीका रुपमा आफूलाई देखाउन मिहिनेत भने केही बढी गर्नुपरेछ। उनले धेरै कुरा त इन्टरनेटकै सहायताले ‘रिसर्च’ गरिछन्। त्यसपछि सुटिङको समयमा उनले अझै बढी आफूलाई सक्रिय बनाइन्।
उनी भन्छिन्, ‘सुटिङ सकिएपछि म सुटिङ भइरहेको गाउँका स्थानीय युवतीलाई पछ्याउँथेँ। उनीहरुको बोलीचाली र हाउभाउ टिप्ने प्रयास गर्थें।’ उनले कति दिन त स्थानीयसँगै खाने–पिउने समेत गरिन्।
उनका लागि फिल्म सानैदेखि मनोरञ्जनको प्रिय माध्यम बन्यो। हलिउड, बलिउड, चाइनिज, कोरियन सबै खालका फिल्म हेरिन्। ती मनोरञ्जनका लागि थिए। नेपाली फिल्म पनि हेरिन्। नेपाली फिल्म मनोरञ्जनका लागि कम र ज्ञानका लागि बढी हेर्थिन्।
उनले भनिन्, ‘त्यहाँबाट नेपाली रहनसहन, परम्परा र अवस्था पनि थाहा हुन्थ्यो।’
युनिभर्सिटीको पढाइ सकिँदासम्म पनि कुनै दिन नेपाली फिल्मकी हिरोइन भइन्छ भन्ने उनले कल्पना गरेकी थिइनन्। उनीसँग आफूले पढेको विषय, आफू बसिरहेको ठाउँसँग जोडिएका अरु नै योजना थिए। ग्ल्यामर क्षेत्रले तान्न भने थालेको थियो, खासगरी मोडलिङले।
र्याम्पमा हिँड्न र विज्ञापनका लागि पोज दिन उनलाई रमाइलो लाग्न थालेको थियो। लन्डनमा यसरी अघि बढिरहेकी उनीमाथि लामो समय लन्डनमै बसेका फिल्म निर्देशक मिलन चाम्सको आँखा पर्यो। उनी ‘वीरविक्रम’मा हिरोइन भइन्। त्यसपछि ‘मिस्टर झोले’ले उपयुक्त पात्र खोज्दै जाँदा दियालाई नै भेट्यो। फिल्म २८ पुसमा रिलिज हुँदै छ।
नेपाली फिल्मकी हिरोइन भएपछि उनलाई लागेको छ, ‘योजना अनुसार कम, समय अनुसार बढी चल्नुपर्दो रहेछ।’ त्यसैले उनले ‘करिअर प्लान’ लगभग स्थगित गरेकी छिन्।
वर्षमा एउटा जति नेपाली फिल्म गर्ने, लन्डनमा मोडलिङ यात्रा जारी राख्ने र पारिवारिक व्यवसायमा सघाउने योजना होइन, सोच बनाएकी छिन्।
अचेल कहिलेकाहीँ आफ्नै जीवनशैलीलाई ‘रिभ्यू’ गर्छिन्। उनलाई ‘मिस्टर झोले’को प्लट आफ्नै जीवनसँग पनि मेल खान्छ कि जस्तै लाग्छ। ‘मिस्टर झोले अर्थात् गर्न अनेकथोक खोज्ने तर कहीँ पुग्न नसकेर भड्किरहेको एउटा मान्छे।
‘सपना देख्न सक्ने तर पूरा गर्न नसकिरहेको एउटा जीवनको कथा उनको फिल्म ‘मिस्टर झोले’मा छ’, उनले भनिन्, ‘अहिलेको मेरो आधा करिअर नेपाल र आधा बेलायतमा छ। आधा समय यता र आधा उता बित्छ। कहिलेकाहीँ म आफूलाई ‘मिसेस झोले’ जस्तो लाग्छ।’
लन्डन निवासी यी अभिनेत्रीलाई नेपालीहरुको आत्मीयता र सहयोगी व्यवहारले मोहनी लगाउँछ। तर, यहाँको फोहोरमैला, जाम र अव्यवस्थाले चाहिँ दिक्क बनाउँछ।
नेपालमा पाइने नेपाली खाना अहिले लन्डनमा पनि प्रशस्तै पाइन्छ। त्यसैले पहिले–पहिले नेपाल आउँदा उनले खानैपर्ने तितौरा आजकाल मेन्यूबाट हटाएकी छिन्। तर, मःमः खान भने उनलाई नेपाल नै आउनुपर्छ जस्तो लाग्छ।
‘बनाउन त उता पनि बनाइन्छ। तर, यहाँ जस्तो स्वाद हुँदैन’, भनिन्, ‘हो त्यस्तै, नेपालीहरु त विश्वका जुन कुनामा पनि भेटिएलान्। नेपालमै भेटिने अर्गानिक आत्मीयता भने नभेटिन सक्छ।’
त्यसैले उनलाई नेपाली मन र नेपाली मःमः असाध्यै प्रिय लाग्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।