काठमाडौं– राजेन्द्र महतो नेतृत्व राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का उपाध्यक्ष सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् ।
सायमी काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने गरी बुधबार पार्टी प्रवेश गर्न लागेका हुन् ।
उनीसहित अन्य नेताहरू पनि नेकपामा समाहित हुने जनाइएको छ । त्यसका लागि बुधबार भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरिएको छ ।
नयाँ भन्नेहरूसँग समुदाय र देशको विकास लागि कुनै विचार नभएकोले नेकपामा जान लागेको उनको भनाइ छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय रहँदै वैकल्पिक र स्वतन्त्र राजनीतिक शक्तिहरूलाई एकजुट गर्ने प्रयासमा लागेका थिए।
त्यसै वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि सायमीले प्रतिस्पर्धा गरेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए। उक्त निर्वाचनमा उनले ६ हजार १७९ मत हासिल गरेका थिए।
पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।