काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका दोस्रा अध्यक्ष (प्रचण्ड)प्रति कडा धारणा सार्वजनिक गरेका छन्।
फेसबुकमा एक स्टाटस लेख्दै थापाले उनको सार्वजनिक अभिव्यक्ति सदैव आगोमा पानी हालेर समस्या समाधानमूखी होइन, इन्धन हालेजस्तो अस्थिरता बढाउन लक्षितजस्तो र तरंगित पार्न उद्यत भएको महसुस गर्न सकिने उल्लेख गरेका हुन्।
मन्त्रीहरुप्रति पनि उनले आक्रोश पोखेका छन्। 'सरकारका राम्रो कामको प्रतिरक्षा नै नगरी मन्त्रीहरु लोकसेवाबाट नाम निकालेर ३० वर्ष पूरै अवधि र ५८ वर्ष उमेर हदसम्म निरन्तर पदमा विराजमान हुन आएजस्तो रवाफ प्रदर्शन गरिरहेको पाइन्छ', उनले लेखेका छन्।
उनले बोल्नै नपर्ने विषयमा प्रधानमन्त्री र सल्लाहकारहरूको जवाफी फायरिङ चलेको उल्लेख गरेका छन्।
'मन्त्रीहरू सबै अत्यन्त जान्नेसुन्ने देखिन चाहने तर खासमा केही नजान्नेजस्तो साबित भएर सूर, ताल र लयविहीन मन्त्रिपरिषद् प्रतीत हुन्छ। मन्त्रीहरूको कार्यशैली धाकभन्दा धक्कु ठूला, हिँड्दाखेरि खुट्टा लुलाजस्तो भएको छ। यसले गर्दा नै सफल कार्यसम्पादन देखिएको छैन', स्टाटसमा उल्लेख छ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा थापा प्रेस सल्लाहकार थिए।
यस्तो छ उनको स्टाटस
घेराबन्दी, विरोध र भ्रमको तुवाँलो
एक त्रासदीपूर्ण दुष्कृत्य
यो कसैको व्यक्तिगत विरोध होइन। तर... दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई सनातन गठबन्धन सरकारहरूभन्दा भिन्न हैसियत, भूमिका र स्थिरताका साथ सञ्चालन गर्न र हुन किन कठिनाइ परेको होला? जनताको मनमनमा प्रश्नहरू उठेका छन्।
किनभने,
१. पूर्व एमालेकै कतिपय नेता र सांसदहरूद्वारा शृंखलाबद्ध र नियोजित रूपमा सरकारको बेइमानीपूर्ण आलोचना र भर्त्सना भएको छ। सत्तारूढ सांसदहरू नै पार्टीको अनुशासन र मार्गदर्शनमा नचलिरहेकोजस्तो देखिएको छ।
२. पूर्व माओवादीकेन्द्रका तर्फबाट मन्त्री भएका केही व्यक्तिहरूको विवादास्पद निर्णय निर्देशित र निहित परिणाम लक्षितजस्तो छ। त्यसो गर्दा कूटनीतिक सम्बन्धको समेत ख्याल नगरी बिगार्ने खालको र संशयपूर्ण गतिविधि रहेको छ।
३. सरकारका राम्रो कामको प्रतिरक्षा नै नगरी मन्त्रीहरु लोकसेवाबाट नाम निकालेर ३० बर्ष पूरै अवधि र ५८ बर्ष उमेरहदसम्म निरन्तर पदमा विराजमान हुन आएजस्तो रवाफ प्रदर्शन गरिरहेको पाइन्छ। नीति, कार्यक्रम र बजेट मन्त्रीमुखी हुन पुगेको छ, आफ्नो हात जगन्नाथ गरिएको छ र जनमुखी बनाउन कोसिस नै गरेको देखिएन।
४. मन्त्रीहरू सबै अत्यन्त जान्नेसुन्ने देखिन चाहने तर खासमा केही नजान्नेजस्तो साबित भएर सूर, ताल र लयविहीन मन्त्रिपरिषद् प्रतीत हुन्छ। मन्त्रीहरूको कार्यशैली धाकभन्दा धक्कु ठूला, हिँड्दाखेरि खुट्टा लुलाजस्तो भएको छ । यसले गर्दा नै सफल कार्यसम्पादन देखिएको छैन।
५. बोल्नै नपर्ने विषयमा प्रधानमन्त्री र सल्लाहकारहरूको जवाफी फायरिङ चलेको छ। कामबाट दिने जवाफ कुराले दिँदा तिक्तता झनै बढ्नमा बल पुगेको छ।
भारतमा १० वर्ष मनमोहन सिंह र चीनमा सि जिन पिङको जारी कार्यशैली अनुकरण गरी नेतृत्वले कुराले भन्दा कामले परिणाम देखाउन जरूरी छ। मूल्यांकन त कसैको पनि सुन्दर कुरामा होइन, औसत काममा हुने हो।
६. सारा अपजस प्रधानमन्त्रीमाथि थोपरेर जनमतकै खिल्ली उडाउने प्रपञ्च रचिएको छ। पहिले (२०१६ मा) बिपीले सकेनन्, अहिले(२०७६ मा) केपीले नसकेको भन्ने माहोल बनाउने षडयन्त्रमूलक सक्रियता र चलखेल जारी छ।
७. केपी ओलीका पखेटा काटेर र लोकप्रियता कमजोर पारेर मात्र आफू प्रभावी हुनसक्ने प्रतिस्पर्धी विभिषण प्रवृत्तिको गठजोडको प्रयास भएको पाइन्छ। विदेशी शक्तिहरूको सरकारलाई घेराबन्दी र थुनछेक तथा नेकपामा विभाजनकारी कोसिस अन्तर्गत प्रोत्साहन, मलजल र दानापानी चलेको छ।
८. एकपछि अर्को गरी सरकारविरुद्ध भ्रमको तुवाँलो सिर्जना गरिएको छ। खानेपानी मन्त्री मेलम्चीमा चुर्लुम्मै भएर उपत्यकाबासी आक्रोसित छन्, उद्योग र कृषिमन्त्री विषादी प्रकरणमा निर्वस्त्र हुनु निकै दुखद छ। मलेसियाको रोजगार गन्तव्यको विवादका कारण डेढ बर्षदेखि निरन्तर समस्या भएर श्रममन्त्रीको पुरानो छवि धूमिल भएको छ। विधेयकहरूको तयारी र दर्ता एवं कानुन निर्माणको प्रक्रियामै केही मन्त्रीहरूको खेलाँची र चरम हेलचक्र्याइँ प्रमाणित भएको छ। गुठी आदि विधेयक जनमत, तथ्य र यथार्थ विपरित हुनाले फिर्ता गर्न बाध्य हुनुपरेको छ। लोकसेवाको विज्ञापन विरुद्ध गरिएको षडयन्त्र भने असफल भयो। चिकित्सा शिक्षा विधेयक र लोकसेवाको विज्ञापनको विरोधमा उत्रिने र उतार्नेहरू नाजवाफ र निरूत्तर भएका छन्।
९. भ्रष्ट, स्वार्थी र माफियाहरूको उछलकुद जारी छ। सरकार दूरी कायम गर्न अनिच्छुक भएर तिनको प्रभाव बढ्दो छ।
१०. स्थायी सरकार कर्मचारीतन्त्र मणि हराएको सर्पजस्तै काम र परिणाममा असहयोगी र लक्ष्यविमुख नै सावित छ।
११. पार्टीको भूमिका शून्यप्राय: रहेको छ। एकता प्रक्रियामा ढिलाइको सरकार सञ्चालनमा प्रत्यक्ष नकारात्मक असर परेको छ। दोस्रा अध्यक्षको सार्वजनिक अभिव्यक्ति सदैव आगोमा पानी हालेर समस्या समाधानमूखी होइन, इन्धन हालेजस्तो अस्थिरता बढाउन लक्षितजस्तो र तरंगित पार्न उद्दत महसुस गर्न सकिन्छ।
१२. नेकपाको डुंगा डुब्दा सवार कोही सुरक्षित नहुने निश्चितप्रायः छ। डोकाको कथा त व्यवहारमा चरितार्थ हुनेछ नै। हरेक दुष्ट छोराहरू बाबुलाई डोकामा हालेर भीरबाट खुरमुर्याउन क्रियाशील भएजस्तै अनुभव हुन्छ यतिबेला। तर नियति त सबका सबले आफ्नो पनि यस्तै बेहोर्नु अनिवार्य हुनेछ भन्ने बुझेकै बुद्धिमत्तापूर्ण हुन्छ होला।
नागरिक तहमा बेचैनी, छटपटी र आक्रोस बढिरहेको बिडम्बनायुक्त अवस्था स्थिरता, विकास र समृद्धिको लागि धेरै खतरनाक सूचक होइन र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।