काठमाडौं- उद्योगी व्यवसायीहरुले २ प्रतिशत ब्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगधन्दाका लागि २ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएकी हुन्।
सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भूकम्पले क्षति पुर्याएका उद्योगलाई अनुदान दिने सरकारको निर्णय कार्यान्वयनमा लैजाने पनि नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराइन्।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक विकासका लागि भारतबाट आयात हुने वस्तुहरुको दायरा बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए।
भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन पनि अब आउने मौद्रिक नीतिले भारतीय नोट पनि नेपालमा प्रयोगमा ल्याउन सकिने व्यवस्था गर्न पनि नेपाल राष्ट्र बैंकलाई सुझाव दिए।
बैंकर्स अनलराज भट्टराईले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपालीले पनि विदेशमै रहेर नेपालमा बैंकिङ कारोबार गर्ने व्यवस्था हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका थिए।
उद्योगीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा पनि जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।