बजेट : विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित

नेपाल लाइभ | २०७६ असार २३ सोमबार | Monday, July 08, 2019 १७:१५:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।

सरकारले बजेट भाषणमार्फत् प्रस्ताव गरेको आगामी आर्थिक वर्षको आयव्यय समेटिएको विनियोजन विधेयक सोमबारको बैठकले बहुमतले पारित गरेको हो। 

सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६/२०७७ को बजेट संघीय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको थियो। यसअघि नै प्रतिनिधिसभाले सो विधेयक पारित गरिसकेको छ।  

राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलमा सांसदहरुले बजेट सम्बन्धमा राखेका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीले दिएका थिए। संसदमा बजेट प्रस्तुत भए लगत्तै राष्ट्रियसभामा विपक्षी दलका सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए। 

तर बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित गर्ने बाटो खुलेको हो। 

सरकारले प्रस्तुत गरेको बजेट सम्बन्धी विनियोजन विधेयकलाई मूल विधेयक मान्ने गरिन्छ। यो विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ। यससँगै सरकारले संसदमा पेस गरेको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानत सम्बन्धी आश्रित विधेयक पारित भएपछि बजेट पूर्ण रुपमा पारित भएको मनिन्छ। 

राष्ट्रिय सभाले भोलिको बैठकमा बाँकी आश्रित विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री,उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, रक्षामन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्बन्धमा अर्थमन्त्रीले जवाफ दिएका थिए।

बैठकमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा जलस्रोत तथा सिंचाई सम्बन्धमा छुट्याएको बजेट र कार्यक्रम बारे सांसदलाई स्पष्ट पारेका थिए।

उर्जामन्त्री पुनले आगामी ३ बर्ष भित्र देशको सम्पूर्ण भागमा बिजुली बत्ति बाल्न पाइने गरी काम भैरहेको बताए।

यस्तै बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले विगतमा भन्दा यो आगामी आर्थिक वर्षको लागि शिक्षामा धेरै बजेट विनियोजन भएको स्पष्ट पारे।

बैठकमा सांसदहरुले शिक्षामा लगानी भए पनि प्रतिफल भने घट्दै गएको कारण के होला भनि प्रश्न सोध्नु भएको थियो।

राष्ट्रिय सभामा विनियोजन विधेयकमा छलफल गर्नु अघि प्रतिनिधिसभामा धेरै छलफल हुने भएकोले सांसदहरुको प्रश्न दोहोरिएको थियो।

राष्ट्रिय सभामा गृहमन्त्रीलाई निर्मला पन्तको बारेमा, परराष्ट्रमन्त्रीलाई इन्डोप्यासेफिक रणनीति बारे स्वास्थ्यमन्त्रीलाई सरकारी अस्पतालको अवस्था बारे, रक्षामन्त्रीलाई सेना परिचालन सम्बन्धि राष्ट्रिय सुरक्षा विधेयक बारे र प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनुहुने अर्थमन्त्री युवराज खतिवडालाई नेपाली हवाई सेवा खस्किएको र हवाई मैदानको पूर्वाधार निर्माणबारे प्रश्न सोधिएको थियो।