काठमाडौं- राष्ट्रिय गौरवका आयोजनाको प्रगति सम्बन्धी अध्ययन गर्न गठित समतिले आफ्नो प्रतिवेदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनसमक्ष बुझाएको छ। आइतबार समितले सो प्रतिवेदन अध्यक्ष तिमिल्सेनाको सिंहदरबारस्थित कार्यकक्षमा बुझाएको हो।
संघीय संसद्को दिगो विकास समिति अध्यक्ष तारोदेवी भट्टले सो प्रतिवेदन बुझाएकी हुन्।
प्रतिवेदनमा पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको पुनर्निर्माणको क्रममा देखिएका समस्या र समाधानका उपायबारे सुझावसहितको प्रतिवेदन अध्यक्ष तिमिल्सिनालाई बुझाइएको समितिकी सभापति भट्टले बताएकी छन्।
यसैगरी सोही समितिले बुझाएको अर्को प्रतिवेदनमा दीगो विकास लक्ष्य हासिलका लागि समितिले प्रदेश र स्थानीय तहमा गरेको अन्तरक्रियाको अनुभव समावेश छ।
समितिले तयार पारेको प्रतिवेदनमा दीगो विकास लक्ष्यसम्बन्धि प्रदेश र स्थानीय तहको अन्तर्क्रियात्मक प्रतिवेदन र पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन भ्रमणबाट भएका उपलब्धि प्रतिवेदनमा समावेश छन्।
प्रतिवेदन बुझ्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहको सरकारबीचको सहकार्यमा जोड दिएका छन्। तिमिल्सेनाले तीन वटै तहको सरकारको सहकार्यबाट मात्रै दीगो विकास लक्ष्य हासिल हुने बताए।
समितिले अध्यक्ष तिमिल्सिनालाई बुझाएको दुवै प्रतिवेदन राष्ट्रियसभामा पेश हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।