धनकुटा– तराईको गर्मी छल्न पहाड चढ्ने होऊन् या घुम्न आउने। धनकुटाबाट फर्किंदा प्रायको झोलामा यहाँको एउटा कोसेली भने हतपती छुटेको हुन्न। त्यो हो, धनकुटे बिस्कुट।
काठमाडौं घर भएका राजु आचार्य उनी केही दिनअघि धनुकटा र तेह्रथुम घुम्न आए। यसपालि उनी जसरी भए पनि धनकुटे बिस्कुट चाख्ने सुरमा थिए। लामो समयदेखि धनकुटे बिस्कुटको नाम सुन्दै आएको भए पनि उनले स्वाद लिने मौका पाएका थिएनन्।
'तर, अरु बिस्कुटभन्दा भिन्दै मिठास हुँदो रहेछ,' उनी भन्छन्। आफूले मात्र खाएनन्। परिवार र साथीहरुका लागि पनि उनले कोसेली लिएर फर्किए।
२०११ सालमा स्थापना भएको मोहन बिस्कुट नै अहिले धनकुटे बिस्कुटले प्रसिद्ध छ। २०३० सालदेखि धनकुटामा बिस्कुटकै व्यापार गर्दै आएका छन् राम गौतमले सुरुमा १० रुपैयाँ प्रतिगोटा बेच्थे। अहिले प्याकेटको ६५ रुपैयाँ पर्छ।
एकै प्याकेट भए पनि धनकुटे बिस्कुट लिएर जाने गरको उनी सुनाउँछन्। तर पछिल्लो समय विभिन्न सरकारी कार्यलय र सुविधाहरु सरेकाले कारोबार कम हुन थालेको उनको भनाइ छ। तथापि दैनिक सय प्याकेटभन्दा धेरै बिस्कुट बिक्री गर्ने उनी बताउँछन्। उनी जस्तै अन्य २० वटा पसलले बिस्कुट बिक्री गर्छन्।
मोहन बिस्कुटको विकल्पमा अन्य धेरै कम्पनीका बिस्कुट बजारमा आएका छन्। तर यहाँ धनकुटे बिस्कुट भनेर चिनिने अरु कम्पनीले पनि कारोबार गरिरहेका छन्।
त्यसैमध्येको एक हो भीमसेन बिस्कुट उद्योग। २०६८ मा स्थापना भएको सो उद्योगले मोहनसँग प्रतिस्पर्धा गरिरहेको छ। मोहनभन्दा १५ रुपैयाँ सस्तोमा उपलब्ध हुने सो बिस्कुटको स्वाद पनि झन्डै मोहन बिस्कुटकै जस्तो रहेको पारखी बताउँछन्।
त्यसका अलावा यहाँ अर्जुन, लक्ष्मी, बाबा जस्ता अन्य उद्योगले बिस्कुट उत्पादन गरिरहेका छन्। स्थानीय व्यापारी दलबहादुर विकका अनुसार एक पटक लगिसकेका ग्राहकले मोहन बिस्कुट नै रोज्ने गरेका छन्।
धनकुटामा मात्र होइन तराईका सहरमा पनि धनुकटे बिस्कुटको बिक्री हुने गरको छ। इटहरी, धरान लगायतका सहरमा यसको बिक्री धेरै हुने गरेको छ। हिले, सिधुवा, तेह्रथुम लगायत पहाडका बजारमा बढी मात्रामा धनकुटे बिस्कुट खपत हुने गरेको व्यापारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।