काठमाडौं- सरकारले आगामी साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने जनाएको छ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने काम भइरहेको र आगामी साउनबाट सो कोष संकलनको काम पनि सुरु गर्ने जानकारी दिए।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा सूचिकृतहरुको संख्या भने उत्साहजनक नभएको पनि स्पष्ट पारे। हालसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगार दाताहरुले मात्रै सो कोषमा आफ्नो नाम दर्ता गराएका छन्।
कार्यकारी निर्देशक अधिकारीले बुझाउने कुरामा कमी भएका कारण पनि सो कोषमा नाम सूचिकृत गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको पनि बताए।
श्रमिकहरुलाई समेत सेवा अवकाश पछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको सो कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताए। उनले सो कोषले सेवा अवकाश पछि दिने उपचार खर्च लगायतको सुविधा गरिब समुदायको हितमा रहेको पनि स्पष्ट पारे।
सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनेहरुको संख्या हाललाई उत्साहजनक नरहे पनि त्यसप्रति आकर्षण बिस्तारै बढ्दै जाने कार्यकारी निर्देशक अधिकारीको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।