शान्ति प्रक्रिया भाँड्न केही युरोपतिर घुमिरहेका छन्, अनौठो भाषा बोल्दैछन् : प्रचण्ड

नेपाल लाइभ | २०७६ असार २० शुक्रबार | Friday, July 05, 2019 १५:४३:०० मा प्रकाशित

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया भाँड्ने कोशिष भएको आरोप लगाएका छन्।

शुक्रबार समाजवादी पार्टी छाडेका नेताकार्यकर्तालाई नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउँदै प्रचण्डले शान्ति प्रक्रिया भाँड्ने घातक प्रयास भएको बताएका हुन्।

‘तपाईंहरुले कत्तिको विचार गर्नु भएको छ, नेपालको शान्ति प्रक्रिया संसारको सबैभन्दा सफल शान्ति प्रक्रिया हो,’ प्रचण्डको भनाइ थियो, ‘तर, एकथरी मान्छे यही शान्ति प्रक्रिया भाँड्नको लागि तपाईंहरुले देख्नुभयो नि युरोपदेखि कहाँ-कहाँ संसारभर घुमाएका छन्, अनौठो-अनौठो भाषा बोल्दैछन् उनीहरु।’

कसैको नाम नलिई गरिएको प्रचण्डको टिप्पणी खासगरी पूर्व बाल सैनिक लेलिन विष्टप्रति लक्षित थियो। बिष्ट नेपालको सशस्त्र युद्धमा बाल सैनिकको रुपमा प्रयोग भएको र त्यसको न्याय दिलाउनु पर्ने भन्दै युरोप पुगेका थिए। केही दिनअघि मात्रै नेपाल फर्किएका उनी झन्डै ८ महिना युरोपमा रहे। सो क्रममा उनले संयुक्त राष्ट्र संघको मानव अधिकार उच्चायुक्तको कार्यालयमा मुद्दासमेत दर्ता गरेका थिए।

प्रचण्डले शान्ति प्रक्रिया भाँड्न पाइए फाइदा हुने ठान्नेहरु समेत रहेको दाबी गरे।

‘कतिपयलाई लाग्न सक्छ- कम्युनिष्ट पार्टीलाई गाली गर्‍यो, शान्ति प्रक्रिया भाँड्न पाइयो भने फाइदा हुन्छ भनेर लागेको होला,’ उनको भनाइ थियो, ‘व्यक्तिगत फाइदा पनि कतिपयले खोज्या होलान्। कतिपयले भन्छन्- शान्ति प्रक्रिया त उद्योग जस्तो भयो, कमाई खाने भाँडोजस्तो। तर, यो राष्ट्रको हितको निम्ति, राष्ट्रको एकताको निम्ति, यो परिवर्तनको सुदृढीकरणको निम्ति र नेपाली जनताको चाहनाको निम्ति निकै नै घातक हो भनेर बुझ्न जरुरी छ।’

नेपालको शान्ति प्रक्रिया सफलताको साथ सम्पन्न हुन आँटेको र यो कतिपयलाई मन नपरेको भन्दै प्रचण्डले एकथरी मान्छे यसलाई विथोल्न लागेको समेत आरोप लगाए।

‘हामीले शान्ति प्रक्रियाको असाध्यै संवेदनशील पक्षलाई बडो सफलताको साथ, संसारको सबैभन्दा सफल स्टोरीको रुपमा स्थापित गरिनैसकेका छौं,’ उनको भनाइ थियोे, 'यो सफल भएको एकथरीलाई मन परेको छैन। त्यसकारण खाटो बसिसकेकोलाई कोपरेर, चिथोरेर, अनेक गरेर घाउ बनाउन पाएर त्यहाँ क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर एकथरी मान्छे लागिराखेका छन्।’

उनले सबैखाले त्यस्ता षडयन्त्रमाथि सशक्त हुनु आवश्यक रहेको पनि जिकिर गरे।

यो पनिः

नेकपामा आएमात्रै बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग हुन्छ : प्रचण्ड