नयाँ दिल्ली (एजेन्सी)- सुपरस्टार सलमान खानको 'टाइगर जिन्दा हे' ले रिलिज भएको १३ दिन बितिसक्दा दर्शकको ध्यान अझै पनि तानिरहेको छ। अर्थात् बक्स अफिसमा फिल्मले राम्रो व्यापार गरिरहेको छ।
पहिलो सातामै भारु २ सय करोडभन्दा बढी व्यापार गरेपछि सलमान-केटरिना अभिनीत यो फिल्म ३ सय करोड क्लबमा सामेल हुने तयारीमा छ। सप्ताहन्तमा आक्रामक कमाइ गरेको फिल्मले अन्य दिनमा पनि राम्रो प्रदर्शन गरिरहेको छ।
बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, 'टाइगर जिन्दा हे' ले बुधबार ५ दशमलब ८४ करोड कमाएको छ। योसहित फिल्मले अहिलेसम्म २ सय ८६ दशमलब ४६ करोड व्यापार गरिसकेको छ। जुन तीव्रतामा फिल्मले कमाइरहेको छ, यसले छिटै सलमानकै 'सुल्तान' को कीर्तिमान तोड्ने देखिएको छ। 'सुल्तान' ले भारतको बक्स अफिसमा ३ सय करोड ४५ लाख भारु कमाएको थियो।
डिसेम्बर २१ मा रिलिज भएको एक्सनप्रधान यो फिल्मले पहिलो सातामा २ सय ६ करोड बटुलेको थियो। दोस्रो साताको ६ दिनमा फिल्मले ८० करोड कमाएको छ। दुई सातामा फिल्मले ३ सय करोड कमाउला त? यो हेर्नु रोचक हुनेछ।
अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा आएको 'एक था टाइगर'को सिक्वल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।