काठमाडौं- आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’को शीर्ष गीत सार्वजनिक भएको छ। यसअघि सार्वजनिक ‘चरी चट्ट परी’ बोलको गीतबाट चर्चा बटुल्न सफल फिल्म युनिटले बिहीबार शीर्ष गीत ‘यो दिल दाउमा लाउने’ बोलको गीत सार्वजनिक गरेको हो।
दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीतमा सजिएको गीतमा धर्मेन्द्र सेवानले स्वर दिएका छन्। बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा दयाहाङ र श्वेता खड्का फिचरिङ भएका छन्।
दर्शकको मन-मस्तिष्कमा बस्न सकोस् भनेर गीतको भिडियोलाई लोकेसन, कोरियोग्राफी र छायांकनले उत्कृष्ट बनाउन निकै मिहिनेत गरिएको नायिका तथा निर्मात्री श्वेताले बताएकी छिन्।
फिल्मको छायांकन मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम, काठमाडौं लगायतका ठाउँमा गरिएको छ। फिल्ममा दया र श्वेताका साथै अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।
फागुन ४ बाट रिलिजको तयारीमा रहेको 'कान्छी'को छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीले संगीत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।