काठमाडौँ- सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालबाट निर्यात हुने र बाहिरबाट आउने तरकारी विषादीरहित हुनुपर्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले यस्तो बताएका हुन्।
‘हाम्रोबाट उता निर्यात हुने पनि विषादीरहित हुनपर्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘भारतबाट वा चीन जहाँसुकै बाट आउने पनि विषादीरहित हुनुपर्छ।’
भारतबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले नेपाल—भारत सिमामा जाँच गर्न थालेपछि भारतले यसप्रति आपत्ति जनाएको भन्ने खबरप्रति बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।
यो विषय नागरिक स्वास्थसँग पनि जोडिएको भन्दै मन्त्री बाँस्कोटाले चेकजाँच गर्नु राम्रो भएको बताए।
‘त्यो नागरिक स्वाथ्यसँग जोडिएको विषय हो,’ उनले भने, ‘त्यसको चेकजाँच हुने कुरा राम्रो कुरा हो। त्यो सबैले गर्नु राम्रो हुन्छ। त्यसमा चेकजाँच गर्ने उपकरणको कारणले झन्झटिलो र असहज भएकाहदसम्मका कुरा छन् भने त्यसलाई मिलाउनुपर्छ।’
उनले दुबै देशका उत्पादनले कुनै पनि नागरिकको स्वास्थ्यमा असर पुर्याउन नुहने बताए। ‘यसलाई नागरिक स्वास्थसँग जोडेर हेर्नुपर्छ,’ उनको भनाइ थियो, ‘न हाम्रा उत्पादनले भारतीय नागरिककको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ। न भारतीय उत्पादनले हाम्रो नागरिकको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ।’
उनले यसप्रति दुबै देशको सरकार संवेदनशील हुनुपर्ने बताए।
जेठ १० मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी उद्योग वाणिज्य मन्त्रालयले भारतलगायत मुलुकबाट आयात हुने ‘क्याफिन’युक्त शक्तिवद्धक पेय पदार्थमा पूर्ण बन्देज लगाएको छ।
उक्त निर्णयप्रति काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर उक्त आपत्ति जनाएको बताइएको छ।
दूतावासको पत्रमा भारतबाट निर्वाध रुपमा नेपालमा खाद्यलगायत सामग्री भित्रिन पाउनुपर्ने भन्दै जाँचप्रति आपत्ति जनाइएको बताइएको छ।
मन्त्री बास्कोटाले यसप्रति भने आफूलाई थाहा नभएको बताए। ‘मलाई पत्र आएको बारे थाहा छैन,’ उनले भने, ‘ यो वाणिज्य वा परराष्ट्रलाई थाहा होला। क्वारेन्टाइन राखेका छौं। अरुले पनि त्यो राखेका हुन्छन्।’
सरकारको निर्णयअनुसार भारत लगायतबाट आयात हुने ताजा तरकारी, फलफूल सम्बन्धित भन्सार बिन्दुमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य परीक्षण गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।