काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तरमा कमी हुन नदिने भन्दै नयाँ मापदन्ड तय गरेको छ। विभागले नयाँ मापदन्ड ४३ र ५३ ग्रेडको सिमेन्टमा लागू गरेको हो।
विभागले यी दुई ग्रेडको सिमेन्ट उत्पादन गर्दा उद्योगीले म्याग्नेसियम अक्साइड (एमजीओ) को मात्रा ५ प्रतिशत मात्रै हुनुपर्ने नियम बनाएको छ।
यसअघिसम्म ३३, ४३ र ५३ ग्रेड सिमेन्टमा एमजिओको मात्रा ६ प्रतिशत रहने व्यवस्था थियो। तर, अबदेखि ३३ ग्रेडको सिमेन्टमा मात्रै ६ प्रतिशत एमजिओ मान्यता हुने बाँकी ग्रेडको सिमेन्टमा ५ प्रतिशतभन्दा बढी एमजिओ हुनु नहुने गरी नयाँ मापदन्ड तय गरिएको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
नेपालमा अहिले ६१ भन्दा बढी सिमेन्ट उद्योग दर्ता छन्। नेपाल सिमेन्टमा आत्मनिर्भरको बाटामो छ। तर, सिमेन्टको गुणस्तरमा उद्योगीहरुले मनपरी गर्न थालेपछि नयाँ व्यवस्था गरिएको उनको भनाइ छ।
विभागका अनुसार ठूला पूर्वाधार निर्माणमा ४३ र ५३ ग्रेडका सिमेन्टको प्रयोग हुन्छ। त्यस्ता सिमेन्टमा एमजिओ ५ प्रतिशत मात्रै हुनुपर्ने नियम बनाइएको उनको भनाइ छ।
सिमेन्ट उद्योगीले भारत, पाकिस्तान, चीनमा भएकै मापदण्ड बनाउनुपर्ने लविङ गर्दै आएका थिए। चीन, भारत, पाकिस्तानमा एमजिओको मात्रा ६ प्रतिशत मात्रै छ। तर, नेपालमा ३३ ग्रेडमा मात्रै ६ प्रतिशत र अन्य दुई ओटा ग्रेडमा ५ प्रतिशत मात्रै एमजिओ हुनुपर्ने नियम बनाइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।