काठमाडौं- देशमा विधमान युवा पलायन रोक्न श्रममैत्री संस्कृतिको विकास हुनुपर्ने धारणा सरोकारवालाले राखेका गरेका छन्।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ का अवसरमा सरोकारवालाहरुले वैदेशिक रोजगारीका नाममा बढ्दो युवापलायन रोक्न श्रम मैत्री संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका हुन्।
नेपालमा श्रमिकहरुलाई हेप्ने, होच्याउने, सानो काम र ठूलो काम भनेर वर्गीकरण गर्ने, ठूलो पद तथा प्रतिष्ठामा रहेका व्यक्तिहरुले सानो पदमा रहेका व्यक्तिहरुलाई गर्ने व्यवहारमा नै फरक पर्नेलगायत समस्याका कारण वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गएको उनीहरुले औँल्याएका छन्।
सांसद विन्दा पाण्डेले बढ्दो युवापलायन रोक्न परम्परागत काम र सोचलाई नै बदल्नुपर्ने बताइन्।
‘सानु काम र ठूलो काम भनेर सोच्ने हाम्रो मानसिकतामा नै बदल्नु जरुरी छ’ पाण्डेले भनिन्।
खालीसिसि कम्पनीकी संस्थापक आयुसी केशीले काम सानो र ठूलो भनेर छुट्याउने र हेप्ने प्रवृतिकै कारण युवाहरु देशमा काम गर्न रुचि नराख्ने गरेको बताइन्।
केसीले कामदारलाई सामाजिक सुरक्षासँगसँगै कामको सम्मान गर्न सक्ने सँस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरिन्।
‘परम्परागत प्रविधिलाई प्रतिस्थापन गरी कसरी सामान्य किसिमका कामलाई पनि प्रविधि मैत्री अथवा सजिलो कसरी बनाउन सकिन्छ यसलाई सम्बन्धित पक्षले ध्यान पुर्याउन आबश्यक छ,’उनले भनिन्।
श्रम कानुन व्यवसायी निशा बानियाँले देशमा युवाहरुलाई रोजगारीका समान अवसर सिर्जना गर्ने खालका कानुन आबश्यक रहेको उल्लेख गरिन्।
उनले भनिन्, ‘श्रमिकहरुबीच भएको असमान व्यवहारका कारण, देशमा बस्नै असहज परिस्थिति सिर्जना भइरहेको छ, जसले गर्दा नेपालमा काम गर्न अप्ठ्यारो मान्ने तर तिनै युवाहरु परदेशमा पुगेर सामान्य काम गरिरहेका हुन्छन्।’
उद्यमी तिलचन्द्र भट्टराईले नेपालमा काम गरेर बिहान बेलुका छाक टार्नै नपुग्ने पारिश्रमिक पाउने अबस्था रहेकाले रोजिरोटीकै लागि युवाहरु विदेश पलायन हुने क्रम बढ्दै गएको बताएका छन्।
विदेशबाट फर्किएका युवा भन्छन्ः नेपालमा खुसी छ, सुख छैन
श्रम तथा रोजगार सम्मेलनमा आयोजित नेपालमा युवा रोजगार विषयक अन्तरक्रियात्मक कार्यक्रममा विदेशबाट फर्किएर नेपालमा नै व्यवसाय सञ्चालन गरिरहेका युवाहरुले नेपालमा फर्किएर व्यबसाय गरिरहँदा सुखी नभएको बताएका छन्।
पोखराका पुकार मल्ल १७ वर्ष अमेरिकामा बसेर नेपाल फर्किएका हुन्।
उनी हाल नेपालमै एक सफल व्यवसायी छन्।
‘अमेरिकामा हुँदा म निकै सुखी थिँए, तर खुसी थिइनँ, नेपालमा फर्किएपछि निकै खुसी छु तर सुखी छैन’ उनले भने।
नेपालमा लगानी गर्ने वातावरण उपयुक्त नभएको उनीहरुले औँल्याएका छन्।
अर्का उद्यमी प्रसन्न बस्नेत जर्मनीबाट फर्किएर नेपालमै कटन मिल सञ्चालन गरिरहेकी छन्। उनले नेपालमा युवाहरुलाई लगानी गर्ने वातावरण नभएको बताइन् जसले गर्दा युवा विदेशीन बाध्य रहेको उनले प्रस्ट पारिन्।
देशमै काम गर्न चाहाने युवाहरुका लागि सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ। ‘नेपालमै केही गरौँ भनेर लगानी गर्दा पनि लगानी डुब्ने डर छ, तर सरकारले यसबापत युवाहरुलाई कुनै सहयोग गरेको छैन’ उनले थपिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।