धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका-४ का किसान राम सिंहले लगाएको धानको बीउ सुक्न लागेको छ। धान रोपाइँ गर्ने समयमा पानी नपर्दा बीउ खेतमै सुक्न लागेको उनले बताए।
गत वर्ष यो समयसम्म उनले धान रोपिसकेका थिए। ‘गत वर्ष त केही दिन ढिलो भए पनि असारको मध्यसम्म धान रोपिसकेको थिएँ। तर, यो वर्ष अहिलेसम्म पानी नपर्दा धान कसरी रोप्ने भन्ने चिन्ता छ,’ सिँचाइको अभावमा धानको बीउ सुक्न लागेको ब्याडतर्फ देखाउँदै सिंहले भने, 'बोरिङबाट पनि पानी नै आउन छोडेको छ। यो बेला धेरै जनाको खेत रोपेर हरियो भएको देख्न सकिन्थो। अहिले त धेरै जमिन बाँझो छ।’
कहिले पानी पर्ला र रोपाइँ गरौंला भनेर कुरेर बसेका किसानहरुको हालत सिंहको जस्तै छ। केहीले जमिनमुनिको पानीको भरमा रोपाइँ गरे पनि अधिकांश किसानको जग्गा बाँझै छ। घोडाघोडी नगरपालिका-५ का किसान किरण चौधरीले भने, ‘आकासे पानीको भर पर्दा अहिलेसम्म रोपाइँ सुरु नै गरेको छैन।’
उनले रोपाइँभन्दा पनि धानको बीउ सुक्न लागेकोमा चिन्ता व्यक्त गरे। ‘गत वर्ष असार १५ सम्म त धेरै किसानहरुले रोपाइँ सकेका थिए। अहिले बोरिङबाट पानी तान्ने सुविधा हुने केहीले मात्रै रोपाइँ गरेका छन्।’
सरकारको यस वर्षको धान दिवसको नारा छ ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण।’ तर, कैलाली/कञ्चनपुरका अधिकांश किसानहरु आकासे पानीको भरमा पर्दा अहिलेसम्म खेत बाँझै राख्न बाध्य छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहात रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोकुलप्रसाद बोहराले भने, ‘गत वर्षको तुलनामा कैलाली र कञ्चनपुरमा धान रोपाइँ न्यून भएको छ।’
उनले नदीको छेउछाउ र सिँचाइको पहुँच भएको क्षेत्रमा मात्र धान रोपाइँ भएको स्पष्ट पारे। प्रमुख बोहराले कञ्चनपुरमा ४७ हजार ५ सय ६७ हेक्टर र कैलालीमा ७१ हजार ५ सय हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको जानकारी दिए। दुई जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये १५ प्रतिशतमा मात्र धान रोपाइँ भएको उनको भनाइ छ।
बोहराका अनुसार कैलालीमा १० प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत मात्र धान रोपाइँ हुन सकेको जानकारी दिए। कैलाली र कञ्चनपुरभन्दा सुदूरपश्चिमका पहाडी जिल्लामा बढी धान रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशतमा धान रोपाइँ भएको छ। एक लाख ८१ हजार ४ सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको यस प्रदेशमा ३५ प्रतिशत खेतमा धान रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जनाएको छ।
गत वर्ष असार दोस्रो सातासम्म ३८ प्रतिशतमा धान रोपाइँ भइसकेको थियो। आर्थिक वर्ष ०७३/७४ को असारसम्म ४३ दशमलब ६१ प्रतिशत जग्गामा धान रोपाइँ भइसकेको थियो।
प्रदेश कृषि निर्देशनालयका निर्देशक गोपाल लामिछानेका अनुसार कूल खेतीयोग्य जमिनको ५४ दशमलब ३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको जनाए। निर्देशनालयका अनुसार यस वर्ष असार १४ गतेसम्म सबैभन्दा बढी दार्चुलामा ५१ प्रतिशत र सबैभन्दा कम कैलालीमा धान रोपाइँ भएको छ।
प्रदेशमा वर्षेनी भारतबाट चामल आयातको दर बढ्दै गएको छ। मन्त्रालयले यस वर्षदेखि चामल आयातमा न्यूनीकरण गर्न मसिनो चामलको उत्पादनमा वृद्धि गर्न विशेष कार्यक्रम ल्याएको जनाएको छ।
कांग्रेसले मलको सहज आपूर्तिको माग गर्दै रोपाइँ दिवस मनाउने
नेपाली कांग्रेस कैलालीले यस वर्षको रोपाइँ दिवस अथवा असार १५ फरक ढंगले मनाउने भएको छ।
नेपाली कांगेस कैलालीका पार्टी सभापति नरनारायण शाहका अनुसार यो दिवसमा कांग्रेसले स्थानीय सरकारमार्फत प्रदेश र संघ सरकारलाई किसानका लागि मल आपूर्ति गर्न ज्ञापनपत्र बुझाउने भएको छ।
आधा असार घर्किंदा पनि किसानले मल नपाएको भन्दै सरकारलाई दबाब दिन कार्यक्रमको स्वरुप परिवर्तन गरिएको सभापति शाहले बताए। विगतका वर्षहरूमा कांग्रेसले खेतखेतमा पुगेर किसानसँगै धान रोपाइँमा सहभागीता जनाउने गर्दथ्यो।
'जिल्लाका आम किसानलाई बाली लगाउने समय भइसक्दा पनि रासायनिक मल नपाएको पीडा छ,' सभापति शाहले भने, 'त्यसैले सरकारलाई जिल्लाभरीबाटै दबाब दिन यो कार्यक्रम आवश्यक भएको हो।'
उनले चुनाव जितेर सरकारमा पुगेकाहरूले कृषि क्षेत्रको विकास, आधुनिकिकरण र आत्मनिर्भर बनाउने कुरा घोषणापत्रमा नै सिमित राखेको आरोप लगाए। भने, 'किसानले समयमा बीउबिजन नपाउने, मल नपाउने समस्या समाधान गर्न सकिएको छैन। सरकारले ल्याएको प्रधानमन्त्री कृषि कार्यक्रम र सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री कृषि कार्यक्रम फगत मात्रै भएको उनको आरोप छ।
नेपाली कांग्रेस कैलालीका जिल्ला कार्यसमिति सदस्य तथा संगठन विभाग प्रमुख शेरबहादुर देउवाका अनुसार असार १५ गते दिउँसो २ बजे देखि ३ बजे सम्म सबै स्थानीय तहमा धर्ना दिने कार्यक्रम तय भएको बताए। संगठन विभाग प्रमुख देउवाका अनुसार ३ बजे स्थानीय सरकारमार्फत प्रदेश र संघ सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।