काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटमा शनिबार भएको खेलमा पाकिस्तान ३ विकेटले विजयी भएको छ।
लिड्समा भएको खेलमा पाकिस्तानले अर्को एसियाली टोली अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ। दुवै टोलीका बलर हावी भन्दा खेल अन्तिम ओभरसम्म धकेलिएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रनको सामान्य लक्ष पेश गरेको थियो। उसका लागि अस्घर अफगान र नजिबुल्लाह जद्रानले समान ४२/४२ रनको योगदान दिए। प्रारम्भिक ब्याट्सम्यान रहमत शाहले ३५ रन बनाए।
बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए। वहाव रियाज र इमाद वोसिमले अफगानिस्तानका समान २/२ खेलाडीलाई पेवेलियन फर्काएका थिए।

अफगान बलरहरुले कसिलो बलिङ गरेपछि २ सय २८ रनको सामान्य लक्ष भेट्टाउन पनि पाकिस्तानलाई अप्ठेरो परेको थियो। उसले ७ विकेटको क्षतिमा २ बल बाँकी रहँदा लक्ष भेट्टाएको हो।
निक्कै सुस्त गतिमा ब्याटिङ गरेको पाकिस्तानका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका इमाद वसिमले अविजित ४९ रनको योगदान दिए। बाबर आजमले ४५ तथा इमाम उलहकले ३६ रन बनाए।
अफगानिस्तानका मुजिब उर रहमान र मोहम्मद नाबीको खातामा २/२ विकेट रह्यो। रसिद खानले पनि १ विकेट चड्काए।

जितसँगै पाकिस्तान इंग्ल्यान्डलाई पछि पार्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। पाकिस्तानले अन्तिम ४ मा स्थान पक्का गर्ने सम्भावना समेत बढेर गएको छ।
इंग्ल्यान्डले अब उपाधि दाबेदार टोलीहरु न्युजिल्यान्ड र भारतको सामना गर्नेछ। पाकिस्तानले भने तुलनात्मक रुपमा कमजोर मनिएको टोली बंगलादेशसँग खेल्न बाँकी छ। यसकारण पनि इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुग्न पाकिस्तानलाई भन्दा अप्ठेरो देखिएको छ।
यद्यपि घरेलु मैदान र दर्शकको साथ भने उसका लागि बलियो पक्ष देखिन्छ। उता अफगानिस्तान भने हालसम्म कुनै पनि खेलमा विजयी हुन सकेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।