नयाँदिल्ली– लामो समयदेखि चलेको विवाद, विरोध प्रदर्शन, राजनीतिक टीकाटिप्पणी झेलेको पद्मावती रिलिज हुने भएको छ । सञ्जय लीला भंसालीद्वारा निर्देशित फिल्म 'पद्मावती'ले सेन्सर बोर्डबाट रिलिजको अनुमति पाएको छ।
भारतीय समाचार संस्था पीटीआइका अनुसार सेन्सर बोर्डले नाम परिवर्तन गरेर 'पद्मा'वत राख्न सुझाएको छ। सेन्सर बोर्डले फिल्मका केही दृश्यहरु हटाएर मात्रै प्रर्दशन गर्न आदेश दिएको छ।
उक्त चलचित्रको विरोध गर्दै आएको करणी सेना भने सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखिएको छैन। करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कावलीले भनेका छन्- पद्मावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्नेछ।
६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताए।
उनले भने, "रोक लगाउन सिफारिस गर्नेमा पूर्व राजपरिवारका अरविन्द सिंह, इतिहासकार चन्द्रमणि सिंह र के के सिंह छन्, मैले तीनजनासँगै कुरा गरेको छु र सबैले रोक लगाउनुपर्ने सुझाव दिएका छन्।"
सेन्सर बोर्डको निर्णयपछि सामाजिक सञ्जालमा पनि उक्त विषयले निकै चर्चा पाएको छ।
ट्वीटर प्रयोगकर्ताले सेन्सर बोर्डको प्रस्तावमाथि प्रश्न उठाएका छन्। पद्मावतीको पोस्टरको एउटा नक्कली तस्वीर ट्वीटरमा चर्चित भएको छ। त्यसमा दीपिकाको तस्वीरको सट्टा रनवीर सिंहको तस्वीर राखिएको छ।
भायकम १८ मोशन पिक्चर्सद्वारा निर्मित उक्त फिल्मलाई लिएर पछिल्लो समय निकै विवाद भइरहेको छ।
प्रदर्शनकारीहरुले उक्त चलचित्रमा महारानी पद्मावतीसँग सम्बन्धित ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै आएका छन्।
निर्देशक भंसालीले जारी विवादबारे स्पष्टीकरण दिँदै भनेका छन्, "म रानी पद्मावतीको कहानीबाट सधैँ प्रभावित रहिआएको छु, यो चलचित्र उनको वीरता र बलिदानप्रति नमन गर्दछ।"
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।