काठमाडौं- नेपाल एयरलाइन्सले लामो समयको तयारीपछि विमानको मर्मतसम्भार गर्ने संस्थालाई दिइने प्राविधिक स्वीकृति पाएको छ।
एयरलाइन्सले नेपाल नागरिक उडड्यन प्राधिकरणमा 'पार्ट–१४५' को स्वीकृतिका लागि लामो समयदेखि अनुमति माग्दै आएको थियो। 'पार्ट–१४५' भन्नाले विमानको मर्मतसम्भार गर्ने संस्थालाई दिइने एक प्रकारको प्राविधिक स्वीकृति हो।
योसँगै अब नेपाल एयरलाइन्सले ए-३३० लाइनको मर्मतको काम स्वयम् आफैंले गर्न पाउनेछ।
लाइन मर्मत कार्य भन्नाले जहाजको मर्मतसम्भार अप्रोनमा गर्ने स्त्तरोन्नतिको काम हो। यसमा जहाज उड्नुअघि र अवतरणपछिको अनुगमन र मर्मत पनि पर्दछ। हाल यस कार्यको लागि नेपाल एयरलाइन्सले 'बिसिटी' नामक संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गरेर काम गरिरहेको छ।
अब जुलाई २०१९ देखि यो कार्य एयरलाइन्सका इन्जिनियरमार्फत हुने भएको छ।
मर्मतको काम सुरु भएसँगै निगमको मासिक ५०–६० लाखका हिसाबले वार्षिक करोडौं रुपैयाँ रकम देशबाट बाहिरिने अवस्थाको अन्त्य हुने दाबी गरिएको छ।
त्यसैगरी एयरलाइन्सले 'पार्ट–१४५' अन्तर्गत रही एमए–६० र वाई–१२ विमानको बेस मेन्टिनेन्स (लाइन मर्मतको भन्दा माथिल्लो स्तर)को कार्यको पनि स्वीकृति पाएको छ। यसबाट पनि चीनबाट विमान मर्मतको लागि आवश्यक दक्ष इन्जिनियरहरुलाई बोलाई राख्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।