काठमाडौं– विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिश कर लगाइने भएपछि ‘ज्ञानमा कर’ लगाउन खोजिएको भन्दै विरोध भयो। सांसदहरुले पनि यो विषयलाई संसदमा उठाए। सांसदहरु र बाहिर उठेका यी सवालको जफाव दिँदै अर्थमन्त्री युवराज खतिवडाले ज्ञानमा नभइ ज्ञानका माध्यमको व्यापारमा कर लगाएको बताएका छन्।
संसदमा जफाव दिँदै उनले भने, ‘ज्ञानमा कर लगाइयो भन्ने विषय जोडतोडले उठेको छ। यो ज्ञानको कर होइन, ज्ञानका माध्यममा कसैले व्यापार व्यवसाय गर्छ र अस्वभाविक नाफा कमाउँछ भने त्यसमा कर लगाइएको हो।’
उनले अहिले किताब किन्दा पुस्तक पसलेले १० देखि ३५ प्रतिशत छुट दिने गरेको उदाहरण अघि सार्दै मुनाफाबाट दिइएको बताए। उनले भने, ‘आफू घाटामा गएर कसैले ३५ प्रतिशतसम्म छुट दिँदैन। त्यो मुनाफबाटै होला । ज्ञानका सामानमा मुनाफा गर्दा अलिकति राज्यलाई तिरौं भनिएको हो।
पुस्तकमा कर नेपालमा मात्रै नभइ छिमेकी मुलुक, युरोप र अमेरिकी देशहरुमा समेत रहेको तथ्य अघि सारे। युनेस्कोले पुस्तकमा न्युनतम कर राख्नु भनेको र विश्व व्यापार संगठनले तोकेको १० प्रतिशत दर नै नेपालमा लागु गरिएको बताए।
विदेशमा गएर नेपालीहरु पुस्तक छपाउँदा भन्सार नलाग्ने तर नेपालमा छाप्दा लाग्ने अवस्था रहेकाले पनि पुस्तक आयातमा राजस्व तोकिएको बताए। नेपालमा मुद्रण गर्नेहरुले १५ प्रतिशत कागज, मसी, मेसिनरी आदिको भन्सार तिर्ने र त्यसैमाथि मूल्य अभिवृद्धि कर पनि तिर्ने तर विदेशबाट बिना भन्सा किताब आयात हुने गरेको बताए । यसले स्वदेशी मुद्रण उद्योगलाई हानी पुगेकाले तिनलाई संरक्षण गर्न कर लगाउनु परेको स्पष्टिकरण दिए।
नेपालका करिब ७ हजार छापाखानामा एक खर्बको लगानी रहेकाले तिनलाई संरक्षण दिन उपयुक्त रहेको बताए। उनले प्रश्न गरे, ‘सुरक्षण मुद्रणमा आत्मनिर्भरताको कुरा उठाइरहँदा अन्य मुद्रणमा आत्मनिर्भर नहुने हो र?’
कागजमा पनि आत्मनिर्भर हुने प्रयास गरिरहेकाले भन्सार घटाउन नसकिएको बताए। नेपाली कागज कारखान केही चलिरहेको र केही आउने क्रममा रहेकाले तिनलाई संरक्षण गर्न कागजमा कर जरुरी रहेको स्पष्ट पारे।
माध्यामिक तहसम्मका पुस्तक निःशुल्क नै भएकाले पनि यसलाई फरक तरिकाले नलिइदिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।