काठमाडौं– सशस्त्र प्रहरी बलको मुख्यालयस्थित स्टोर भवनमा आगलागी प्रकरणमा सशस्त्रको लेखा शाखामा कार्यरत धेरै कर्मचारीको संलग्नता देखिएको छ। आइतबार लेखा शाखामा कार्यरत नायब निरीक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले सई हुम बहादुर थापालाई पक्राउ गरेको हो। यसअघि प्रहरीले हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरिसकेको छ। अनुसन्धानका लागि सई थापालाई पनि पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले पुष्टि गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्रमा भएका अनियमितताको छानबिन थालेपछि लेखामा कार्यरत कर्मचारीहरुले प्रमाण नष्ट गर्न योजनाबद्ध रुपमा आगो लगाएको सशस्त्र प्रहरीकै आन्तरीक छानबिनमा खुलिसकेको छ।
पक्राउ परेका हवल्दारले पटक पटक अख्तियारले बयानका लागि बोलाएपछि आफु भ्रष्टाचार मुद्दामा फस्ने डरले आगो लगाएको स्वीकारेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भुले आगलागी मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाएको छ। उनीमाथि नै अनुसन्धान गर्ने क्रममा लेखाका अन्य कर्मचारीहरुको पनि संलग्नता खुलेको हो।
सशस्त्रले एआईजी प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति बनाएर घटनाको अनुसन्धान गरिरहेको छ। हालसम्मको अनुसन्धानमा सशस्त्रकै लेखाशाखामा कार्यरत ४/५ जना प्रहरीकै संलग्नता देखिएको छ।
विगतका कारोबारको बिल लगायत कागजपत्र स्टोर शाखामा राखिएको र बिद्युत् सर्ट भएर आगो लागेको भनेर कागजपत्र जलाएर कारबाहीबाट जोगिने प्रयास लेखा शाखाका कर्मचारीले गरेका थिए।
हवल्दार श्रेष्ठले राती साढे १ बजे सशस्त्रको स्टोर भएको भवनमा पेट्रोल छर्किएर आगो लगाएका थिए। आगलागीमा केही महत्वपूर्ण कागजपत्रहरु समेत जलेका छन्। दुई वटा दमकलले साढे २ घन्टामा आगो नियन्त्रणमा लिइएको थियो।
गृह मन्त्रालयले पनि घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्मको अनुसन्धानमा उच्च अधिकृतको संलनग्ता नदेखिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।