काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको क्यानले जानकारी दिएको हो।
तेस्रो संस्करणमा ७० करोड रुपैयाँको कारोबार हुने क्यानको अपेक्षा छ। यस संस्करणबाट २० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको क्यानले जनाएको छ।
क्यानका अनुसार प्रतियोगिताको विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसैबीच, क्यान अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलका अघिल्ला दुई संस्करणको लेखापरीक्षण प्रतिवेदन बोर्डबाट पारित गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा पठाइएको बताएका छन्।
कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले एनपीएलको सम्पूर्ण हिसाबकिताब पारदर्शी रहेको दाबी गरे। नेपालका खेल संघमध्ये क्यान सबैभन्दा पारदर्शी रहेको उनको भनाइ थियो।
एनपीएलको हिसाबकिताब सञ्चारमाध्यमलाई भन्दा पनि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइएको उनले बताए।
क्यानका कोषाध्यक्ष पदम खड्काले प्रायोजक, टिकट बिक्री र फ्रेन्चाइज टोलीबाट हुने कारोबारबारे जानकारी दिएका थिए। उनका अनुसार प्रायोजकबाट ३० करोड रुपैयाँ, टिकट बिक्रीबाट ७० करोड रुपैयाँ तथा फ्रेन्चाइज टोलीसहित एक सय करोड रुपैयाँभन्दा बढीको कारोबार हुने दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।