काठमाडौं- आगामी असार १५ र १६ गते काठमाडौंमा राष्ट्रिय रोजगार सम्मेलन हुने भएको छ। आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको हो।
युवा जनशक्तिको प्रचुरता भएको देशमा देशभित्रै रोजगारीका अवसर सिर्जना गरी आर्थिक, सामाजिक तथा भौतिक विकासलाई जोड दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। सबै सरोकारवाला व्यक्तिहरुको सार्थक सहभागिता गराई रोजगार नीतिको सुधार गर्ने समन्वयात्मक पहलकदमीको थालनी गर्न सम्मेलनको तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री गोकर्ण विष्टले जानकारी दिए।‘
'सबै सरोकारवाला तथा विज्ञहरुको छलफलबाट आन्तरिक रोजगारीलाई कसरी व्यवस्थित र मर्यादित गर्दै लैजाने भन्नेबारे यसै सम्मेलनमार्फत निष्कर्ष निकालेर हामी अगाडि बढ्नेछौँ,’ मन्त्री विष्टले भने। देशभित्रै धेरै रोजगारीका सम्भावनाहरु रहेको बताएँदै उनले देशभित्रै केही गर्न सकिन्छ भन्ने दृढ विश्वासको विकास गर्न रोजगार सम्मेलन गर्न लागिएको बताए।

यस्ता छन् सम्मेलनका उद्देश्य:
- नेपाली श्रम बजारमा रोजगारीको ठूलो सम्भावना भएका क्षेत्रको माग र आपूर्तिको अवस्था विश्लेषण गर्ने।
- नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिका लागि सिपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपायहरुको खोजी गर्ने।
- स्वदेशका सम्भावनायुक्त क्षेत्रमा युवाहरुको आकर्षण बढाई श्रम बजारको मागबमोजिम दक्ष जनशक्तिको विकास गर्न नीति, योजना र कार्यक्रम तथा मागदर्शन गर्ने।
सम्मेलनको अर्को मुख्य आकर्षणको रुपमा नमूना उद्यमीहरुको प्रदर्शन कक्षसमेत समावेश गरिनेछ। जसमा विभिन्न उद्योगी समूह, उद्यमीको सञ्जाल तथा व्यवसायीहरुले आ-आफ्नो क्षेत्रका आवश्यकता, व्यवसाय विकासको सम्भावना, सिप तथा क्षमता विकासको आवश्यकतालगायत सूचना प्रविधिको भूमिका प्रस्तुत गर्ने उल्लेख छ।
विशेषतः जुत्ता, पर्यटन तथा होटल व्यवसाय, सूचना प्रविधि, साना सामग्री उत्पादनहरुको छुट्टाछुट्टै प्रदर्शनसमेत गरिनेछ।

श्रम प्रवक्ता नारायण रेग्मीले सरकारले सञ्चालन गर्न लागेको दुई दिने रोजगार सम्मेलनले आन्तरिक रोजगारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले भने, ‘राष्ट्रियरुपमा नै श्रमिकहरुका समस्या सम्बोधन गर्ने उद्देश्यले सरकारले सञ्चालन गर्ने श्रम तथा रोजगार सम्मेलनले श्रमिकहरुको हकहितका सम्बन्धमा निकै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।’
आन्तरिक बजारमा आवश्यक श्रमशक्तिको वर्तमान अवस्था, रोजगरीका सम्भावनाहरु, चुनौती तथा अन्तरविश्लेषण गरी भावी दिनमा के-कस्ता कदम चाल्न सकिन्छ सो सम्बन्धमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुभारम्भ हुने उक्त सम्मेलनमा विषयगत मन्त्रालयका मन्त्रीहरु, श्रम विज्ञ, रोजगारदाता, तालिम प्रदायक संस्था, नमूना उद्यमी, श्रमिक युनियनका प्रतिनिधिलगायत सबै सरोकारवालाहरुको उपस्थिति रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।