काठमाडौं- निर्वाचन आयोगले मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका उम्मेदवार र दलहरुलाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेद्वार बनेका प्रतिनिधि र दललाई खर्च विवरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको हो।
निर्वाचन सम्पन्न भएका मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। खर्च विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानुन अनुसार कारबाही गरिने आयोगले जनाएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवार बनेका प्रतिनिधिले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय तथा क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। त्यस्तै समानुपातिकतर्फ सहभागी भएका दलहरुले समानुपातिकतर्फको उम्मेदवारको निर्वाचन खर्च समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने आयोगका नवनियुक्त प्रवक्ता दिनेशकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
खर्च विवरण पेश नगर्ने दल वा उम्मेदवारलाई आयोगले १५ हजार रुपैयाँ जरिवाना गरी समय तोकेर विवरण सार्वजनिक गर्न आदेश दिन क्ने कानुनी व्यवस्था छ।
सो आदेश अनुसार तोकिएको समयभित्र पनि खर्च विवरण सार्वजनिक नगर्ने दल र उम्मेदवारलाई आयोगले पटक-पटक १५ हजार रुपैयाँ जरिवाना गर्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।