काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताएका छन्।
ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आयोजना गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको वातावरण बन्दै गएको विश्वास व्यक्त गरे।
उनले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताएका थिए। उनले सुशासन र विकासको युग सुरु भएको बताउँदै भने, 'आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छl'
दाहालले देश विकास र समृद्धिमा लैजान नेपाली जनताले वाम गठबन्धनप्रति ठूलो अपेक्षा गरेको बताए। उनले भने, 'जनताको अपेक्षालाई हामी पूरा गर्छौं। कार्यान्वयनमा लैजान्छौं।'
वाम गठबन्धनले करिब दुई तिहाइ मत पाए पनि प्रतिपक्षमा रहेका दललाई समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उनको भनाइ थियो।
सबैलाई मिलाएर देशलाई समुन्नतिको मार्गमा लैजानुबाहेक आफू र आफ्नो पार्टीको अरु कुनै लक्ष्य र उद्देश्य नरहेको उनको भनाइ थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।