प्युठान- प्युठानका ९ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि २ हजार ७ सय २७ जना श्रमिकले काम पाएका छन्।
जिल्लामा १७ हजार ९ सय १६ जनाले रोजगारीका लागि आवेदन दिएका थिए। तर, पहिलो चरणमा २ हजार ७ सय २७ जनालाई मात्र रोजगारी दिइएको छ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये प्युठान नगरपालिकामा ३ सय ८ जना, स्वर्गद्धारी नगरपालिकामा १ सय ८० जना, सरुमारानी गाउँपालिकामा १ सय २०, ऐरावती गाउँपालिकामा २ सय ८० जना, माण्डवी गाउँपालिकामा १ सय २० जना, मल्लरानी गाउँपालिकामा १ सय २५ जना, नौबहिनी गाउँपालिकामा ३ सय ४४ जना, झिमरुक गाउँपालिकामा ८ सय १७ जना र गौमुखी गाउँपालिकामा ६ सय जनालाई रोजगारी दिइएको छ।
श्रमिकको ज्याला ६ सय रुपैयाँ निर्धारण गरिएको छ। उनीलाई मोटरबाटो खन्ने, कुलो निर्माण गर्ने, भवन, सरसफाइ, वृक्षारोपण गर्नेलगायतका काममा खटाइएको छ।
स्वर्गद्वारी नगरपालिकाका रोजगार संयोजक अनिल पाण्डेले रोजगारी माग गर्दै आवेदन दिएका ४ हजारमध्ये १ सय ८० जनालाई रोजगारी दिइएको बताए। उनका अनुसार छनोट भएकाहरुलाई काममा लगाउन नगरपालिकाले ४६ लाख रुपैयाँ विनियोजन गरेको छ।

पहिलो चरणमा एक सय दिनको मात्रै काम पाएका उनीहरुले अब वर्षभरी काम पाउनुपर्ने माग गरेका छन्।
रोजगारी पाएपछि उनीहरुको दैनिकीसमेत फेरिएको छ। सरुमारानी गाउँपालिका-४ की श्यामकली बिकले गाउँघरमै काम पाउँदा खुसी लागेको बताइन्।
पहिले यो कार्यक्रम लागू हुनेमा धेरैले शंका गरेको बताउँदै स्वर्गद्धारी नगरपालिका रोजगार संयोजक पाण्डेले अहिले भने छनाोट भएकाहरुमा सन्तुष्टीको भाव देखिने बताए।
उक्त कार्यक्रमका लागि जिल्लाका सवै ८ स्थानीय तहमा गरी साढे ३ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकातर्फ प्युठान नगरपालिकाले सबैभन्दा बढी ५५ लाख र गाउँपालिकातर्फ झिमरुक गाउँपालिकाले ४१ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।
प्युठानमा धेरैजसो महिला काममा खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।