काठमाडौं– अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको फिल्म ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीतले युट्युबमा राखिएको २४ घन्टामै नयाँ कीर्तिमान बनाएको छ।
फिल्मको उक्त गीतलाई यो समाचार बनाउन्जेल युट्युबमा ८ लाख ५५ हजारभन्दा बढीले हेरिसकेका छन्। यति छोटो समयमै गीतलाई यति धेरै हेरिनु नेपाली फिल्मका गीतहरुमा ‘रुपै मोहनी’ बोलको गीत पहिलो हो।
टंक बुढाथोकी र मीना निरौलाको स्वर तथा टंक स्वयंकै संगीत रहेको यस गीतको शब्द लोकराज अधिकारीले लेखेका हुन्। गीतमा तीन पुस्ताका तीन जोडीको रुपमा पल शाह, आँचल शर्मा, हरिवंश आचार्य, दीपाश्री निरौला तथा दीपकराज गिरी र प्रियंका कार्की फिचरिङमा छन्।
यस गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने दीर्घ गुरुङले खिचेका हुन्।
‘शत्रु गते’को यो गीतअघि रिलिज फिल्म ‘छक्का पञ्जा २’ को ‘नाइलनको साडीमा’ गीतले २४ घन्टामा ८ लाख पटक हेरिएको रेकर्ड बनाएको थियो। चैत ९ बाट प्रदर्शनको तयारीमा रहेको यस फिल्मको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् भने मह सञ्चारले निर्माण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।