काठमाडौं- सन् २०१७ लाई फर्केर हेर्दा यसअघिका वर्षहरुमा जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए। ती मध्ये अधिकांशको चर्चाको कारण सत्ता र शक्ति नै हो। यसरी हेर्दा चर्चाको अग्रपंक्तिमा जर्मन चान्सलर एन्जेला मार्केल र बेलायतका प्रधानमन्त्री टिरिजा मे देखिए।
त्यस्तै, दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाई, माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी पत्नी मिलान्दा गेट्स, भारतीय राष्ट्रिय कंग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी पत्नी कुलसुम र वर्षको उत्तरार्धमा जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेकी पत्नी अर्थात् तत्कालीन प्रथम महिला ग्रेस मुगावे पनि चर्चामा आए।
एन्जेला मर्केल
जर्मन चान्सलर एन्जेला मर्केल सन् २०१७ मा पनि चर्चाको शिखरमा पहिलो नम्बरमै पर्न सफल भएकी छिन्। गत सेप्टेम्बर महिनामा भएको निर्वाचनबाट उनी चौथो पटक पनि जर्मन चान्सलरमा निर्वाचित हुन सफल भएकी हुन्। विगत दस वर्षभन्दा बढी समयदेखि युरोपको एक सम्पन्न राष्ट्रलाई प्रभावकारी महिलाका रुपमा नेतृत्व दिन सफल महिला नेचृ एन्जेला मार्केलले आफूलाई अब्बल साबित गर्दै आएकी छिन्।
प्रभावकारी नेताको पहिचान दिन सफल जर्मन चान्सलर एन्जेला मार्केल यस पटक चौथो पटक यहाँको चान्सलर हुन सफल भएपछि चर्चामा आएकी हुन्। उनी यस वर्षको सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी’ का रुपमा पनि पर्नसक्ने देखाइएको छ। खासगरी ओरालो लागेको युरोपियन अर्थतन्त्रलाई आश्चर्यजनक रुपबाट माथि उकास्न सफल एन्जेला युरोपेली नागरिकबीच नै लोकप्रिय छिन्। विश्व शक्तिशाली देशलगायत इराक र सिरियामा भीषण आतंक मच्चाउँदै आएका इस्लामिक स्टेट (आइएस) आतंककारी विरुद्ध उनले चालेको कदम पनि प्रशंसनीय छ।
टिरिजा मे
यस पटक बेलायतकी प्रधानमन्त्री टिरिजा मे चर्चाको हिसाबले दोस्रो स्थानमा पर्न सफल भइन्। बेलायत युरोपेली युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा जनमतसंग्रहमा बाहिरिने पक्षमा मतदान भएपछि बेलायतका तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेतृ मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। यसरी देशको आधाजसो जनसंख्या यसको विपक्षमा रहदाँ पनि देशको कार्यभार सम्हाल्नु अत्यन्त जटिल समयको रुपमा थियो। यस्तो ऐतिहासिक समयमा पनि शासन सञ्चालन गर्नुले उनी दोस्रो स्थानमा पर्न सफल भएकी हुन्।
मिलान्दा गेट्स
माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी पत्नी मिलान्दा गेट्स यस पटक पनि विश्वका चर्चित महिलाको सूचीमा तेस्रो स्थानमा परेकी छिन्। सन् २००० मा स्थापित विल एन्ड मिलान्दा गेट्स फाउन्डेसनकी उपाध्यक्ष मिलान्दाले सो संस्थामार्फत ४० विलियन डलर खर्च गरिसकेकी छिन्। महिला विकास तथा युवतीको उत्थानको लागि उनको विशेष योगदान रहँदै आएको छ। उनले एक सयभन्दा बढी देशका संघ-संस्थालाई यस्तो सहयोग गर्दै आएकी छिन्।
आङ सान सुकी
सधैं सकारात्मक रुपमा चर्चाको शिखरमा पुग्न सफल म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकीको पछिल्लो चर्चाको विषय ठीक उल्टो बन्न पुग्यो। देश र प्रजातन्त्रका लागि चर्चामा रहने उनले यो वर्ष भने अत्यन्तै नराम्रो चर्चा कमाइन्।
सुकी यतिसम्म आलोचित भइन्, उनले प्राप्त गरेकी नोबेल शान्ति पुरस्कार नै फिर्ता गराउनुपर्ने चर्चा चल्यो। म्यानमारको उत्तरी रखाइन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिंग्या मुस्लिम समुदायलाई जातीय सफायाकै शैलीमा गरिएको दमनले उनलाई यो अवस्थामा पुर्यांएको हो। रोहिंग्यामाथि म्यान्मार सरकारले अत्याचार गरिरहँदा प्रजातन्त्रवादी नेतृको परिचय पाएकी सुकी मौन बसिन्। पछिल्लो दमनका कारण म्यान्मारका ६ लाखभन्दा बढी नागरिक लखेटिएर विदेशमा शरणार्थीको रुपमा बस्न बाध्य छन्।
सन् २०१७ को विश्व राजनीतिको ध्यान यस घटनाले निकै तान्यो। विश्वका मिडियाले ती शरणार्थीका कथा-व्यथा लगातार सुनाइरहे। यसरी करिब दुई दशक सैनिक हिरासतमा बिताउँदा पनि प्रजातन्त्रको माग नछाडेकी नेतृ सुकीको यस्तो व्यवहारलाई विश्वले निकै नमीठो महसुस गर्योा।
सोनिया गान्धी
यस वर्ष भारतीय कंग्रेसको पूर्व अध्यक्ष सोनिया गान्धी पनि चर्चामा आइन्। १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनियाले आफ्नै ४७ वर्षीय छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेपछि चर्चामा छाएकी हुन्।
आफ्नै छोरालाई अध्यक्ष पद दिइएको भनी सोनियाको केही आलोचना पनि भएको थियो। निर्वाचनमा अधिकांश ठाउँमा पराजित भएको कंग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ। राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले सर्वसम्मतिबाट अध्यक्ष पदमा निर्वाचित भएका छन्।
बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जवाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ। नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ। सोनिया पूर्व प्रधानमन्त्री राजीव गान्धीकी पत्नी हुन्। सोनिया लामो समयदेखि कंग्रेस पार्टीको लागि संघर्षरत छिन्। इटाली मूलको भएकाले उनी एक समय प्रधानमन्त्रीको दाबेदार भए पनि भारतमा तीव्र विरोध भएपछि अन्तिम सत्तारोहण गर्ने कदम पछि सारेकी थिइन्।
कुलसुम नवाज सरिफ
यस पटक पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी धर्मपत्नीले लाहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेपछि चर्चामा आएकी थिइन्। पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाईमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ नवाज शरिफ प्रधानमन्त्री पदबाट हटाएइ पनि उनकै श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेपछि चर्चाको विषय बन्न पुगेको थियो।
आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकाले पनि उनको चर्चा बढेको केहीको विश्लेषण छ। एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा पनामा पेपर्समा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पदसमेतमा रहन अयोग्य ठहर गरेर उनलाई सत्ताबाट हटाइएको थियो। पूर्व प्रधानमन्त्री शरिफको राजीनामापछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो। क्यान्सर रोगबाट पीडित कुलसुम हाल लन्डनमा उपचाररत छिन्।
पार्क गेउन हाइ
सन् २०१६ मा महाअभियोग लगाई हटाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइको यस वर्ष पनि उत्तिकै चर्चा रहिन्। उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लगाइए पनि त्यो प्रमाणित हुन भने बाँकी छ। पार्कलाई एक अदालतले दोषी ठहर गरेपछि यसै वर्ष पक्राउ गरिएको थियो।
ग्रेस मुगावे
यसै वर्षको उत्तरार्धतिर जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको उनकै श्रीमती ग्रेस मुगावेका कारण नमीठो अन्त्य हुनपुग्यो। सेनाले ‘कु’ गरेसँगै दबावमा परेका राष्ट्रपति मुगाबेले आफू विरुद्ध संसदमा महाभियोग प्रस्ताव टेबल हुनुअघि पदबाट राजीनामा दिए। ९३ वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्व गरिरहेका थिए। कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारी चयन गर्ने विषयमा उनकी पत्नी र उपराष्ट्रपतिबीच विवाद देखिएपछि सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो।
उनले आफ्नी पत्नी अथवा यहाँकी प्रथम महिला ग्रेस मुगावेलाई सत्ता सुम्पिने लालसाले उपराष्ट्रपतिलाई पदबाट बर्खास्त गरेका थिए। तर, उनको यो योजना जन्मिनु अगावै उनले नै सत्ता त्याग्नुपर्ने अवस्था आयो। स्वतन्त्रता प्राप्तिका सेनानी मुगावेलाई सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले वार्ता गरी राजीनामा दिन आग्रह गरे पनि मुगावेले अस्वीकार गरेपछि सेनाले ‘कू’ गरयो। सेनाको नजरबन्दबाटै मुगाबेले राजीनामा बुझाएपछि सेनाको समर्थन प्राप्त पूर्व उपराष्ट्रपति इमर्सन मनङ्वा नयाँ राष्ट्रपति भएका छन्। यसरी ९३ वर्षीय एक जना स्वतन्त्रता सेनानी र लोकप्रिय नेताको राजनीतिक अन्त्य आफ्नै पत्नीलाई शासनमा ल्याउने स्वार्थका कारण हुन पुग्यो।
रासस, अन्तर्राष्ट्रिय आलेख सेवा (एजेन्सीहरुको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।