काठमाडौं– अभिनेत्री केकी अधिकारी अहिले फिल्म ‘राज्जा रानी’को प्रचारमा जुटेकी छिन्। ‘घिन्ताङ’ नामको डान्स रियालिटी सोबाट प्लस टु अध्ययन गर्दागर्दै अभिनय क्षेत्रमा प्रवेश गरी केकी अभिनेत्रीबाट निमात्री पनि बनेकी छिन् यसवर्ष, फिल्म ‘कोहलपुर एक्प्रेस’ मार्फत्।
एमबिएसम्म अध्ययन गरेकी केकी फिल्मका माध्यामबाट विशुद्ध मनोरञ्जन भन्दा पनि सामाजिक सवाल उठाएको रुचाउँछिन्। सामाजिक सञ्जाल वा लेख लेखेर आफूलाई त्यही कित्तामा उभ्याइरहेकी हुन्छिन्।
कलाकारका लागि आफूले गरेको हरेक पात्र प्रिय हुन्छ । त्यसमा पनि केही पात्र यस्ता हुन्छन् कि जसले आत्मसन्तुष्टि र गौरवान्वित महसुस गराउँछ । केकी भन्छिन्, ‘मलाई दिइएका हरेक पात्रलाई दुरुस्त उतार्ने कोसिस गरेकी हुन्छु ।’ तीमध्ये आफूलाई प्रिय लाग्ने केही पात्रबारे उनले नेपाल लाइभलाई बताएकी छिन्।
हेलेन
फिल्म ‘मसान’मा निर्वाह गरको भूमिका थियो हेलेनको । यो चरित्र मेरा लागि निकै भिन्न र चुनौतीपूर्ण थियो । उपान्यासमा वर्णन भएकी हेलेनलाई चरितार्थ गर्न सहज थिएन । आमाले सुनाएका दन्ते कथा भन्दा पनि पुरानो कथामा आधारित थियो । उक्त पात्र जस्ती देखिन मैले जम्माजम्मी एउटा तस्बिर पाएकी थिएँ । त्यसैका आधारमा गरिएको अभिनय भएका कारण ‘हेलेन’ एक सम्झन लायक पात्र हो । एक नव यौवनाले श्रीमतीको अभिनय गरिरहेकी थिएँ । श्रीमतीको अभिनय गर्नुपर्ने, माया पनि दर्शाउनु पर्ने, त्यो पनि श्रीमानलाई नछोइकन । त्यो पात्रका रुपमा मैले अभिनय गरें भनेर गर्व महसुस गर्छु।
सानी
फिल्म ‘भाग सानी भाग’मा ‘सानी’को चरित्रले आम केटीहरुले देख्ने सपनाको प्रतिनिधित्व गथ्र्यो । हरेकले देख्ने सपना उसका परिवेशसँग जोडिएका हुन्छन् । तर, पन्छी जस्तै खुल्ला आकाशमा उड्न चाहने सपना हरेक युवतीसँग हुन्छ । घरभित्र बाँधिएर होइन, खुला रुपमा बाहिर जाने चाहना उक्त पात्रको छ । युवतीहरुकी स्वप्न युवती हो सानी । त्यसैले पनि ‘सानी’ पात्र मलाई आत्मीय लाग्छ।
रानी
फिल्म ‘राज्जा रानीको’को ‘रानी’ चरित्र मेरो जीवनमा स्पसेल हुनुका पछाडि धेरै कारण छन् । धेरै फिल्ममा काम गरिसक्दा पनि मधेसी युवतीको भूमिकामा काम गर्न पाएकी थिइनँ। ‘राज्जा रानी’मा त्यो पाएँ । मलाई एउटा पात्रका रुपमा आफूलाई प्रस्तुत गर्न अभिनयका लागि अभिनय मात्रै पनि लाग्दैन । समाज बुझ्ने एउटा नयाँ पाठ जस्तो लाग्छ । त्यसैले पनि मैले यो पात्रको भूमिका निर्वाह गर्दा थोरै भए पनि मधेस र त्यहाँका युवतीका जीवनशैली बुझ्ने मौका पाएकी छु । अभिनयका हिसाबले भन्नुपर्दा त्यसमा चालढाल नयाँ छ । दाइजो प्रथा विरुद्धको फिल्ममा काम गरेर सामाजिक उत्तरदायित्व निभाएकी छु । फिल्मले मनोरञ्जन मात्रै नदिएर कुसंस्कार, महिला हिंसा, दाइजोका निहुँमा हुने भु्रणहत्या जस्ता कुरामा केही हदसम्म चेतना फैलन सक्छ भन्ने आशा छ । त्यसैले यो फिल्मकी रानी मेरा लागि स्पेसल छे।
साशा
‘लभ साशा’की ‘साशा’ मलाई यसकारण पनि खास लाग्छ कि बिहे गर्ने उमेर भएपछि केटीहरु प्रेममा हुन्छन् । स्वभाव चञ्चल हुन्छ । मनमा परिवारले कहिले बिहे गर्दिन्छ होला भन्ने कुरा घुम्छ । यही उमेरमा ब्रेकअप पनि बेहोर्नुपर्छ । यी विविध कुरा साशा मार्फत एकैपल्ट महसुस गर्ने मौका पाएँ । जुन सबैको जीवनमा एकपल्ट घट्ने घटनाहरु हुन्।
गौरी
‘महसुस’ को ‘गौरी’ पात्र पनि जीवनका सम्झन लायक अभिनय भित्र पर्छ। साधारण गाउँले नारीले गरिबीलाई कसरी बुझेकी हुन्छे ? ग्रामीण गरिबीको पराकाष्टा कस्तो हुन्छ? त्यसबाट मैले महसुस गरेकी छु । जुन पात्रका रुपमा मैले सकेसम्म आफूलाई ढाल्ने कोसिस गरेकी छु । लाग्छ, एक हदसम्म सफल पनि भएकी छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।