काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डको अपराजित यात्रा टुंगिएको छ। बर्मिंघममा बुधबार राति सकिएको खेलमा पाकिस्तानले ६ विकेटको जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ।
यो जितसँगै पाकिस्तानको ७ खेलमा ७ अंक भएको छ। बंगलादेशसँग समान अंक भए पनि नेट रनरेटको आधारमा पाकिस्तान छैठौं स्थानमा छ।
टस जितेर ब्याटिङ रझैको न्युजिल्यान्डले वर्षाका कारण तोकिएकै समयमा मैदान उत्रिन भने पाएको थिएन। तर, वर्षा पाकिस्तानका लागि भने फाइदाजनक रह्यो। उसका बाँया हाते फास्ट बलरले पाकिस्तानको लक्षमुताविककै खेल प्रदर्शन गरेका थिए। खराब सुरुवात गरेको न्युजिल्यान्डका शीर्ष ५ खेलाडी ८३ रनकै अवस्थामा पेवेलियन फर्किएका थिए।

तर, न्युजिल्यान्डलाई सुदृढ लक्षसम्म डोर्याए जेम्स निसम र कोलिन डी ग्रान्डहोमले। दुवैले छैठौं विकेटका लागि १ सय ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। निसम शतक बनाउन ३ रन मात्रैले चुके। अन्तिमसम्म मैदानमै रहेका उनले ५ चौका र ३ छक्का हिर्काए।
उता ग्रान्डहोमले ६४ र कप्तान केन विलियम्सनले ४१ रनको योगदान दिए। न्युजिल्यान्डका ४ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

उता पाकिस्तानका सहिन शाह अफ्रिदीले ३, सादव खान र मोहम्मद आमिरले समान १/१ विकेट हात पारे।
२ सय ३८ रनको लक्षका साथ मैदान उत्रिएको पाकिस्तानको पनि सुरुवात राम्रो हुन सकेन। उसले ४४ रनको स्थितिमा प्रारम्भिक जोडीलाई गुमाइसकेको थियो।
तर, बाबर आजमले ११ चौकाको मदतले शतकीय पारी खेलेपछि ५ बल अगावै पाकिस्तानको जित सम्भव भएको हो। उनले अविजित १ सय १ रन बनाए। त्यस्तै हरिस सोहेलले मार्टिन गुप्तिलको हातबाट रनआउट हुनुअघि ६८ रन जोडे। माोहम्मद हफिजले ३२ रनको योगदान दिए।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, लोकि फर्गुसन र कप्तान विलियम्सनले समान १/१ विकेट लिए।
पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कति?
पाकिस्तानसँग हार बेहोरे पनि न्युजिल्यान्ड अंकतालिकाको दोस्रो स्थानमै यथावत छ। उसको ७ खेलबाट ११ अंक छ। न्युजिल्यान्डभन्दा माथि शीर्ष स्थानमा अष्ट्रेलिया छ। ६ खेलमा जित र एक खेलमा हार बेहोरेको अष्ट्रेलिया प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ।
भारत र आयोजक इंग्ल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
पाकिस्तानले अन्तिम ४ मा स्थान सुरक्षित गर्न आफ्ना बाँकी रहेका दुवै खेल जित्नुपर्ने हुन्छ। पाकिस्तानले अबका दुवै खेल एसियाली देश बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ। यी दुवै खेल जितेमा उसको ११ अंक हुनेछ। पाकिस्तानले सेमिफाइनल यात्रा तय गर्न यत्तिले मात्रै सम्भव छैन। उसले अन्य शीर्ष टोलीको खेलमा पनि भर पर्नुपर्ने हुन्छ।

यसका लागि न्युजिल्यान्ड, भारत र इंग्ल्यान्डमध्ये कुनै एक टिमले बाँकी खेलमा पराजय भोग्नुपर्ने हुन्छ। इंग्ल्यान्डले अब भारत र न्युजिल्यान्डको सामना गर्नुपर्नेछ र दुवै टोली प्रतियोगिताका दावेदार रहनु र आयोजक रहनुले पनि इंग्ल्यान्डले थप दबाब झेल्नुपर्ने देखिएको छ। यदि यी दुवै खेलमा इंग्ल्यान्ड पराजित भएमा र बाँकी दुवै खेलमा पाकिस्तान विजयी भएका उसको सेमीफाइनल यात्रा तय हुनेछ।
विश्वकपमा समूह चरणमा थोरै मात्र खेल बाँकी रहँदा अब शीर्ष ४ मा कुन-कुन टोली पुग्लान् भन्ने कौतुहलता बढेर गएको छ। यसमा न्युजिल्यान्ड, भारत, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, श्रीलंका र वेस्टइन्डिज सबैको सम्भावना देखिन्छ।
प्रतियोगिताबाट दक्षिण अफ्रिका र अफगानिस्तान बाहिरिइसकेका छन्।



(सबै तस्बिर-आइसिसी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।