काठमाडौं- मुद्रण उद्योग तथा यस व्यवसायसँग सम्बन्धित व्यवसायीहरुले विदेश छपाई गरी नेपाल आयात गरिने पुस्तकहरुमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था अनिवार्य कार्यन्वयन गर्नुपर्ने माग गरेका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी विदेशबाट आयात गर्ने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने निर्णयको विरोध भईरहेका बेला मुद्रण व्यवसायीले निर्णय कार्यान्वयनको माग गरेका हुन्।
मुद्रण व्यवसायीले उच्च गुणस्तरको छपाई नेपालमै संभव भईसकेको र विदेशी प्रकाशनका पुस्तक नेपालमा छाप्न सके ५० प्रतिशत सस्तो पर्नुको साथै थप रोजगारी पनि सिर्जना हुने भन्दै निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन्।
मुद्रणसँग सम्बन्धित विभिन्न ६ वटा संघ संस्थाले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी सरकारको निर्णयको विरोध प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय कार्यान्वयनको माग गरेका हुन्।
संविधानको मौलिक हक अन्तर्गत राखेर निःशुल्क शिक्षाको व्यवस्था गरिरहदा किताबमा कर लगाउने निर्णय गरेर शिक्षा र ज्ञान आर्जनमा अवरोध श्रृजना गर्न खोजिएको भन्दै विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने सरकारको निर्णयको सदनदेखि सडकसम्म विरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।