कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ शासापुरका महिला खेतमा रोपाईंका लागि धानको बीउ निकाल्दै । बर्खे झरी पर्न थालेपछि किसानलाई रोपाईं गर्ने चटारो बढेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
काठमाडौं- यस वर्षको मनसुन ढिलो गरि मात्र नेपाल भित्रिँदा धान रोपाई अघिल्लो वर्षको तुलनामा घटेको छ।
गत वर्ष यही समयमा २० देखि २२ प्रतिशत सकिएको धान रोपाईं यसवर्ष भने १२ प्रतिशतको हाराहारीमा मात्रै देखिएको छ।
आकाशे पानीको भरमा निर्भर रहने सिंचाईका कारण धान रोप्न ढिलाई भएको हो।
कृषि प्रसार निर्देशनालयको गतवर्षको तथ्याङ्कअनुसार असार १३ गतेसम्ममा २१ प्रतिशत रोपाई सम्पन्न भएको देखिन्छ।
तर, यसवर्ष भने असार ११ गतेसम्ममा १२ प्रतिशत हाराहारी मात्रै रोपाई सकिएको कृषि विभागले जनाएको छ।
गतवर्ष यही अवधिमा अनुसार उच्च पहाडि जिल्लाहरुमा ३८ दशलमव २१ प्रतिशत, मध्य पहाडि जिल्लामा २९ दशमलव शुन्य ९प्रतिशत र तराईका जिल्लामा १८ दशमलव ६५ प्रतिशतमात्र रोपाई सम्पन्न भईसकेको थियो। तर यसवर्ष हिमाली जिल्लामा छरुवा धान लगाउने काम सकिएपनि रोपाईं भने सुरु नै भएको छैन।
मुलुकभर करीब १५ लाख ५२ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाई हुने गरेको छ। अपर्याप्त सिंचाईको सुविधाका कारण अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा धान खेती हुने गरेको छ।
‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ मुख्य नाराका साथ यसवर्ष पनि देशैभर १६औं धान दिवस तथा रोपाई महोत्सव मनाइने भएको छ। धान दिवस हरेक वर्ष असार १५ गते मनाइने गरिन्छ।
कृषि विभागका निमित्त महानिर्देशक एवं १६औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा. रेवतीरमण पौडेलले रोपाई महोत्सव तथा धान दिवसको मुल कार्यक्रम बर्दिया जिल्लाको राजापुर नगरपालिका ८, धोबिपुरमा आयोजना गर्न लागिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।