काठमाडौं– स्वर्गीय श्रीकृष्ण श्रेष्ठको आज ४८औं जन्म दिनमा अभिनेत्री श्वेता खड्काले भावुक श्रद्धाञ्जली दिएकी छन्। २०२७ पुष १४ मा जन्मिएका श्रेष्ठको क्यान्सरबाट २०७१ साउन २५ मा मृत्यु भएको थियो।
सोही सन्दर्भमा श्रीकृष्णकी श्रीमती श्वेताले सामाजिक सञ्जाल र युट्युव मार्फत् सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेकी हुन्। उनले श्रीकृष्णको जन्मदिन विशेष रहेको भन्दै लखेकी छिन्, 'मृत्युको दिनभन्दा जन्म दिन महत्वपूर्ण हो। जन्मले हाँसो फुटाउँछ अनि मृत्युले रोदन छुटाउँछ। मलाई त्यही रोदनको पल भन्दा हाँसोको पल प्यारो छ।'
२०४५ सालमा फिल्म ‘भूमरी’बाट नेपाली दर्शकको मन मष्तिस्कमा बसेका अभिनेता श्रेष्ठको फिल्म ‘कोहिनुर’को प्रर्दशनको सम्मुखमा निधन भएको थियो।
२०७१ साल असार २३ मा अभिनेत्री खड्कासँग लगनगाँठो कसेका श्रेष्ठ बिहे भएको ३२ दिनमै दिवंगत भएका थिए। विवाहको छोटो समयमै पतिको साथ छुटेकी श्वेता लामो समय शोकबाट बाहिर आउन सकिनन्। सँगै जीवन जिउने सपना देखेकी श्वेताले श्रीकृष्णप्रतिको प्रेम र समर्पणमा कमी आउन दिएकी छैनन्। उनी भन्छिन्, 'भन्नेहरु त भन्ने गर्छन् कि तपार्इं सदासदाका लागि बिलाउनुभयो भनेर। तर, मलाई हजुर मबाट बिलाएको भान हुँदैन। हजुर त मेरै मन र मष्तिस्कमा जीवित र सजीव हुनुहुन्छ।'
श्वेताले उनको सम्झना मात्रै गरेकी छैनन्, श्रीकृष्णकै पथ अँगालेकी छिन्। उनले फिल्म ‘कान्छी’ निर्माण गरेकी छिन्। उक्त नाम श्रीकृष्णले नै जुराएका थिए। उक्त फिल्म बनाउने सपना पनि श्रीकृष्णकै रहेको श्वेता बताउँछिन्। उनी भन्छिन्, ‘मैले ‘कान्छी’ फिल्म उहाँको सपना पूरा गर्न बनाएकी हुँ।’ फिल्म आगामी फागुन ४ मा रिलिज हुनेछ।
श्रीकृष्णको जन्मजयन्तिमा श्वेताले फेसबुक र युट्युवमा यस्ता भावना पोखेकी छिन्ः
मृत्युको दिनभन्दा जन्म दिन महत्वपूर्ण हो। जन्मले हाँसो फुटाउँछ अनि मृत्युले रोदन छुटाउँछ। मलाई त्यही रोदनको पल भन्दा हाँसोको पल प्यारो छ।
किनकि आजकै दिन हजुर जन्मनुभएको थियो मेरै लागि। हजुरले मेरो सिउँदो भर्नुभयो अनि रङ्गिन भविश्यको सपना देखाउनुभयो। म त्यही सपनाको रङमा रङ्गिएर जिन्दगीको यात्रामा हजुरसँगै समाहित भएँ। हामी दुवै छोटो समयकै लागि सही सँगै हिँड्यौं। जीवनको त्यो यात्रामा हजुरले मलाई कैयन खुसी दिनुभयो। बिर्सनै नसक्ने करोडौं मिठा याद अनि आँट, शाहस र हिम्मत दिनुभयो।
साँच्चै हजुरले दिएका ती अविस्मरणीय पलहरुले जिन्दगीको अन्तहीन यो यात्रामा निरन्तर अगाडि बढ्नका लागि मलाई हौस्याइरहेका छन्। भन्नेहरु त भन्ने गर्छन्, कि तपार्इं सदासदाका लागि बिलाउनुभयो भनेर। तर, मलाई हजुर मबाट बिलाएको भान हुँदैन। हजुर त मेरै मन र मष्तिस्कमा जीवित र सजीव हुनुहुन्छ।
मैले बोल्ने हरेक शब्द अनि मैले हेर्ने हरेक दृश्यमा केवल हजुर नै हुनुहुन्छ। हजुर हुनुहुन्छ र त म छु। हजुरको हरेक जन्म अनि हरेक जुनी मेरै लागि हुनेछ। आजकै दिन मेरा लागि यो धर्तीमा पाइला टेक्नुभएको तपाईंलाई जन्म दिनको अवसरमा करोडौं शुभकामना।
उही हजुरकी कोहिनुर 'कान्छी'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।