भैरहवा- विवाहित एक महिलालाई बिहेको प्रस्ताव राख्दा नमानेपछि उनकी छोरीको अपहरण गरिएको छ।
पर्साको वीरगन्ज महानगरपालिका २७ का ३८ वर्षीय जयराम दासले रुपन्देही तिलोत्तमा १२ की २३ वर्षीया मन्जु थापालाई विवाह प्रस्ताव गरेका थिए। तर मन्जुले उनको प्रस्तावलाई अस्विकार गरेपछि दासले मन्जुकी ६ वर्षीया छोरी सावित्रीको अपहरण गरेको खुलेको हो।
रुपन्देहीका डिएसपी धर्मराज भण्डारीका अनुसार असार ९ गते राति अपहरणमा परेकी बालिकाको उद्धार गरिसकिएको छ। १० गते बिहान अपहरणको जानकारी पाएको प्रहरीले बालिकाको आज उद्धार गरेको हो।
होटलमा बालिका बन्धक
बालिकाका बुवा टेकबहादुर र आमा मन्जु घर नजिकै निर्माण भइरहेको पुलमा मजदुरी गर्थे। त्यहाँ ९ महिनादेखि काम गराउँदै आएका पेटी ठेकेदार हुन्, जयराम दास।
प्रहरीका अनुसार ठेकेदार र मन्जुबीच निकटको सम्बन्ध बस्यो। उनीहरु सँगै घुमघाममा पनि जाने गरेका थिए। दासको मनमा एकहोरो प्रेम पलाउँदै गयो। निकट सम्बन्धलाई लिएर दासले एक दिन मन्जुलाई विवाहको प्रस्ताव गरे। २३ वर्षीया मन्जुले प्रस्तावलाई अस्विकार गरिन्। लगत्तै दासले छोरी अपहरण गर्ने चेतावनी दिए।
छोरी अपहरणपछि मन्जुले दाससँग भएको घटनाबारे प्रहरीलाई बयान दिएपछि शंकाको सुई दासतिर घुम्यो।
प्रहरीले मन्जुलाई दासलाई फोन सम्पर्क गर्न लगायो। उताबाट दासले झुट बोल्दै नवलपरासीको चोरमारा रहेको जवाफ दिए। तर, उनको मोबाइल लोकेसन बुटवलमा देखायो। प्रहरीले बुटवल क्षेत्रलाई आधार मानेर खोजीमा लाग्यो।
'यता हामीले मन्जुलाई दाससँग निरन्तर फोन सम्पर्क गर्न लगाइरहेका थियौं,' रुपन्देहीका एसपी हृदय थापाले भने, 'उता बालिकालाई होटलको कोठामा बन्धक बनाएर राखिएको हुन सक्ने शंकामा होटलहरुमा खोजी जारी राखेका थियौं।'
फोन सम्पर्कका बेला पनि दासले मन्जुलाई आफूसँगै हिँड्नका लागि दबाब दिइरहेका थिए। त्यसपछि प्रहरीले जुक्ति निकाल्यो। मन्जुलाई आफू विवाहका लागि तयार रहेको र बुटवलको सब्जीमण्डी क्षेत्रमा लिन आउन भन्न लगाइयो। सोही अनुसार मन्जुलाई लिन आएका दास प्रहरीको नियन्त्रणमा परे।
पक्राउ परेपछि दासले बालिकालाई रुपन्देहीको होटल बुटवल प्लाजा एन्ड रेस्टुरेन्टको कोठा नम्बर १०३ मा राखेको स्वीकार गरेपछि उनको उद्धार गरियो। बालिका र दासको चिनजान रहेकोले उनले बालिकालाई फकाएर घरबाट मोटरसाइकलमा लगेका थिए।
पक्राउ परेका दासउपर शरीर बन्धक तथा अपहरण मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।