काठमाडौँ- अमेरिकी विदेशमन्त्री माइक पोम्पिओको पूर्व निर्धारित श्रीलंका भ्रमण रद्द भएको छ। पोम्पिओले बिहिबार श्रीलंकाको संक्षिप्त भ्रमण गर्ने तय भएको थियो।
भारतीय अंग्रेजी अखबार ‘दि हिन्दू'ले इन्डो-प्यासिफिक रणनीति अन्तर्गत अमेरिकी सैन्य अखडा राख्ने प्रस्तावको श्रीलंकामा विरोध भएपछि विदेशमन्त्री पोम्पियोको कोलम्बो भ्रमण रद्द भएको उल्लेख गरेको छ।
तर, कोलम्बोस्थित अमेरिकी दूतावासले भने, ‘टार्नै नसकिने गरी भ्रमण जुधेकाले’ भ्रमण रद्द भएको जनाएको छ।
पोम्पिओ मंगलबारदेखि भारत भ्रमणमा छन्। ‘इन्डो-प्यासेफिक क्षेत्रमा आफ्नो आगामी भ्रमणका दौरान टार्नै नसकिने भ्रमण तालिका जुधेकाले पोम्पिेओको पहिलेको घोषणाअनुसारको श्रीलंका यात्रा रद्द भएको छ,’ कोलोम्बोस्थित अमेरिकी दूतावासले भनेको छ।
जापानको ओसाकामा ठुला अर्थत्नत्र भएका २० राष्ट्रको समूह जी-२० को शिखर सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै विदेशमन्त्री पोम्पिओ पनि जानु पर्ने भएकाले भ्रमण रद्द भएको अमेरिकी दाबी छ।
तर, उनको भ्रमण इन्डो-प्यासिफिक रणनीति अन्तर्गत अमेरिकी सैन्य अखडा श्रीलंकामा स्थापना गर्ने ‘स्ट्याटस अफ फोर्स एग्रिमेन्ट (एसओएफए)’ प्रस्तावले त्यहाँको राजनीतिक वर्गमा उब्जिएको विवादका कारण भएको ‘दि हिन्दू’ले लेखेको छ।
चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनमार्फत् कोलोम्बोको पूर्वाधार विकासमा व्यापक मात्रामा सहयोग पुर्याउँदै प्रशान्त महासागर क्षेत्रमा उपस्थिति जनाएपछि अमेरिका श्रीलंकमा रणनीतिक उपस्थिति बढाउन इच्छुक छ।
महिन्द्रा राजापाक्षे शासनकालमा चीनलाई दिइएको हाम्बान्टोटा बन्दरगाह भविष्यमा चिनियाँ जलसेनाका लागि उपयोग हुन सक्ने डर अमेरिकालाई छ।

अर्को भारतीय अंग्रेजी अखबार ‘दि इकोनोमिक्स टाइम्स’का अनुसार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल ‘श्रीलंका फ्रिडम पार्टी’का सदस्यले कुनै पनि अमेरिकी सेना वा सैन्य अखडाको श्रीलंकामा उपस्थिति हुने कुराको विरोधमा छन्।
अमेरिकाप्रति बढ्दो यही भावनाका कारण विदेशमन्त्री पोम्पिओले आफ्नो श्रीलंका भ्रमण रद्द गरेको उक्त अखबारको दावी छ।
मुख्य विपक्षी दल संयुक्त राष्ट्रिय पार्टी (यूएनपी)मा पनि सरकारको उक्त प्रस्तावबारे विवाद छ। प्रस्तावित एसओएफए सम्झौताका केही बुँदाप्रति सरकारको एउटा हिंसाले पनि असहज महसुस गरिरहेको छ।
एसओएफएका सट्टा त्यसलाई भिजिटिङ फ्रोर्स एग्रिमेन्ट (भीएफए) राख्न सुझाइएको छ। उक्त सम्झौताको प्रस्तावलाई वासिङटन र कोलोम्बो दुवैले अध्ययन गरिरहेको बताइएको छ।
राष्ट्रपति सिरिसेनाले कतै श्रीलंकाको सम्प्रभुतामा सम्झौता गर्ने त होइनन् भन्ने आशंका छ। प्रधानमन्त्री विक्रमासिंघेको पनि उक्त प्रस्तावका केही बुँदा अस्वीकार्य भएको धारणा छ।
त्यहाँका रक्षासचिव एवं सेवानिवृत्त जर्नेल सान्ता कोटेगोडाले कोलोम्बोमा मिडियासँग कुरा गर्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न नुहने बताएका छन्। कुनै पनि विदेशी सेनाले श्रीलंकाको सुरक्षा गर्न आवश्यक नभएको उनको भनाइ छ।
प्रस्तावित उक्त सम्झौतामा कुनै पनि संसोधन बिना हस्ताक्षर भए यसले अमेरिकी सेनालाई बिना कुनै राहदानी केवल अमेरिकी सरकारले जारी गरेको परिचय पत्रको भरमा श्रीलंका प्रवेश गर्ने अनुमति दिने छ।
यसले कुनै पनि अमेरिकी लडाकु विमानलाई त्यहाँको अध्यागमन, प्रवासी र भन्सार विभागका अधिकारीको निरीक्षण बिनै श्रीलंकामा प्रवेशको बाटो पनि खोल्ने छ।
यस अन्तर्गत कोलोम्बो कुनै पनि अमेरिकी अधिकारीलाई श्रीलंकाको कानुन अन्र्तगत मुद्दा चलाउन असमर्थ हुने छ र अमेरिकी सेनाले के ल्याउँछ र बाहिर के लैजान्छ भन्ने कुराको निरिक्षण गर्न गर्ने कुनै अधिकार श्रीलंकाली अधिकारीलाई हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।