काठमाडौं- राप्रपाका अध्यक्ष कमल थापाले आफ्नै पार्टीका संसदीय दलका सचेतक तथा सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन्।
उपप्रधान तथा ऊर्जामन्त्री रहेका अध्यक्ष थापाले पार्टीको नीतिविपरीत कार्य गरेको आरोपमा गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका हुन्।
सहरी विकास मन्त्रालयमा सचिवको नियुक्तिलाई लिएर थापा र गिरीबीच बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको थियो।
पार्टीको निर्देशनविपरीत सचिव राखेको र पार्टी अध्यक्षले पटकपटक सम्पर्क गर्न खोज्दा अटेर गरेका कारण हटाउन पत्र पठाइएको थापा निकट स्रोतले बतायो।
मन्त्रिपरिषद् बैठकमै थापाले गिरीलाई राजीनामा दिन भनेका थिए। गिरीले ‘मैले राजीनामा तपाईँलाई होइन, प्रधानमन्त्रीलाई दिने हो’ भनेर जवाफ दिएका थिए। त्यसको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री थापाले शुक्रबार उनको बर्खास्तगीका लागि प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।
‘पार्टीले सिफारिस गरेको व्यक्ति पार्टीको नीतिअनुसार चल्नुपर्ने हो। तर त्यसो नगरेपछि हटाउन पत्र पठाइएको छ,’ राप्रपाका एक नेताले भने, ‘अन्य कारबाहीको विषयमा पनि पार्टीमा छलफल हुनेछ।'
नयाँ संविधान अनुसार कुनै पनि मन्त्रीलाई हटाउन पार्टीले पत्र पठाउनुपर्ने हुन्छ। पत्र आउनासाथ मन्त्री स्वतः पदमुक्त हुनेछन्। थापाको पत्र प्रधानमन्त्री कार्यालयमा पुगेकाले गिरी पदमुक्त भएको प्रधानमन्त्री निकट स्रोतले बतायो। प्रतिनिधि सभा र
प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपा निर्वाचनभन्दा केही समयपहिले मात्र सरकारमा सहभागी भएको थियो।
दोस्रो संविधानसभादेखि थापा निकट रहेका गिरी दोस्रो पटक मन्त्री भएका हुन्। तर सरकारबाट बाहिरिने समयमा गिरीले थापाले भनेको व्यक्तिलाई सचिव नियुक्त नगरेपछि हटाइएका हुन्।
थापाले दीपेन्द्रनाथ शर्मालाई हटाउन चाहेका थिए भने गिरी शर्माको पक्षमा थिए। गिरीलाई हटाउनुमा राज्यमन्त्री कुन्तीकुमारी शाहीको समेत हात रहेको स्रोत बताउँछ। शाहीले मन्त्री गिरीले एकलौटी निर्णय गर्ने गरेको र आफूलाई छायाँमा पारेको गुनासो अध्यक्ष थापासामु पुर्याएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।