काठमाडौं- नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघका कार्यकर्ताहरुले आज बालाजु औद्योगिक क्षेत्रअगाडि प्रदर्शन गरेका हुन्।
वीरगञ्जमा केही दिनअघि ग्यास उद्योगमा आगालागी हुँदा धेरै जनधनको क्षति भएको भन्दै सो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्न संघले माग गरेको छ।
प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नियम, कानुनभन्दा बाहिर खोलिएका उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न आग्रह गरे। 'वीरगञ्जमा मानिस जिउँदै जलिरहेको छ, त्यस्तो भयानक दृश्य यहाँ देख्न नपरोस् भन्ने उद्देश्यले हामीले खबरदारी गरेका हौँ,' उनले भने।
बालाजु औद्योगिक क्षेत्रभित्र रहेको इञ्जिनियरिङ कलेज, सिद्धार्थ वनस्थली इन्टिच्युट लगायतका थुप्रै विद्यालय औद्योगिक क्षेत्रको वरपर सञ्चालनमा रहेको भन्दै काफ्लेले विद्यार्थीको सुरक्षाका लागि आन्दोलन गर्नुपरेको बताए।
काठमाडौँ महानगरपालिकाका–१६ का अध्यक्ष मुकुन्द रिजालले धेरै विद्यालय र बस्ती भएको बालाजु क्षेत्रको बीचमा उद्योग सञ्चालन भएकाले तत्काल हटाउनका लागि वडावासीले पटकपटक माग गरिसकेको जानकारी दिए।
'उद्योग हटाउनका लागि वडाले पाँच महिना पहिले आपूर्ति, उद्योग र वातावरण मन्त्रालयलाई पत्राचारसमेत गर्यो तर अहिलेसम्म सुनुवाइ हुन सकेन,' उनले भने।
नेपाली कांग्रेस वडा नं १६ का अध्यक्ष देवेन्द्र पाठकले ग्यास उद्योग हटाउनका लागि भोलिदेखि नै हस्ताक्षर अभियान थालिने जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।