जनकपुर- धनुषाको मिथिला नगरपालिका-६ ढल्केबरमा ‘शक्तिशाली’ धामी हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको आरोपमा पक्राउ परेका शत्रुधन महतोलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
अबोध बालक आर्यनलाई बली दिएको आरोपमा पक्राउ परेका ५५ वर्षीय छिमेकी महतोलाई जिल्ला अदालत धनुषाले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
सोमबार न्यायधीश उपेन्द्र प्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आरोपित महतोलाई जलेश्वर करागरा पठाइएको छ।
बालकलाई बली दिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ।
महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ।
आर्यनको शव गत वैशाख २४ गते घर नजिकैको बाँसघारीमा भेटिएको थियो। घरको ढोकामै खेलिरहेका बालकलाई महतोले अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेका थिए।
धामिझाँक्रीको कामलाई अझ शक्रिशाली बनाउन उनले आफ्नै आँगनमा धारिलो हतियारले रेटेर बालकको बली दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।