प्रहरी भ्यान दुर्घटना : अदालत लाँदालाँदै २ कैदीको मृत्यु, ६ घाइते

नेपाल लाइभ | २०७६ असार १० मंगलबार | Tuesday, June 25, 2019 २०:०४:०० मा प्रकाशित

रौतहट- रौतहटमा थुनुवा लिएर जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जना थुनुवाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आउँदै गरेको प्रहरीको भ्यान मंगलबार दिउँसो बीच बाटोमै दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नगरपालिका-४ का २० वर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका आरोपी सुनसरीका ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँको ‘कमान्ड’मा ६ जना प्रहरीको टोलीसहित ४ जना थुनुवाको म्याद थप गर्न लैजाने क्रममा बीच बाटोमा नै दुर्घटना भएको हो।

दुर्घटनामा जिल्ला अदालत गौरमा म्याद थप गर्न लगिएका चन्द्रपुर नगरपालिका–३ का १८ वर्षीय टेकबहादुर थिङ र चन्द्रपुर नगरपालिका–८ का ३९ वर्षीय कुमार गेलाल घाइते भएका छन्।

यस्तै, प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँ, प्रहरी हवल्दारद्वय उमेश यादव र विनोद मण्डल, प्रहरी जवानहरु सन्जीव कार्की, अजयकुमार यादव र हरिकिशोर चौधरी पनि सो दुर्घटनामा घाइते भएका छन्। 

घाइतेमध्ये चिन्ताजनक अवस्थाका प्रहरी जवान चौधरीलाई थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ।

दुर्घटनाका अरु घाइतेको चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।